सृजना कप भलिबल आजदेखि, ४५ टिमको सहभागिता रहने

पोखरा । पोखरामा मंगलबारदेखि सृजना कप संचालन हुँदैछ । पोखरा रंगशालाको भलिबल कोर्टमा ४ दिनसम्म चल्ने प्रतियोगितामा ४५ टिमले भाग लिने भएका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले दिउँसो साढे १ बजे प्रतियोगिता उद्घाटन गर्ने छन् ।

सृजना विकास केन्द्र र कास्की जिल्ला भलिबल संघको संयुक्त आयोजनामा संचालन हुन लागेको कास्की जिल्ला सामुदायिक विद्यालय छात्रछात्रा भलिबलमा विगतको तुलनामा टिम सहभागिता बढेपछि आयोजक समेत उत्साहित छ । २०७३ सालदेखि संचालित यो प्रतियोगिता कोरोना कारण बीचमा प्रभावित बनेको थियो । यसपालि पाँचौं संस्करणसम्म आइपुग्दा छात्रतर्फ ३० र छात्रातर्फ १५ टिमले सहभागिता जनाएको सृजना विकास केन्द्रका पूर्व अध्यक्ष एवं प्रतियोगिता संयोजक मीनप्रसाद भट्टराईले जानकारी दिए ।

छात्रछात्रा दुवैतर्फ विजेतालाई १÷१ लाख, उपविजेतालाई ६०÷६० हजार र तृतीय हुने विद्यालयलाई ३५÷३५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।
सर्वोत्कृष्ट छात्रछात्रा दुवैलाई जनही ५ हजार र अन्य ६ विधाका उत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिनेछ । उत्कृष्ट प्रशिक्षकले ५ हजार पाउने सिर्जना विकास केन्द्रका निवर्तमान अध्यक्ष एवं प्रतियोगिता संयोजक इन्द्रप्रसाद पौडेलले बताए । प्रतियोगिताको दिउँसो उद्घाटन हुने भए पनि बिहान ९ बजेदेखि नै खेल सुरु छन् । फाइनल फागुन १९ गते हुनेछ ।

प्रतियोगितामा कास्कीका सामुदायिक विद्यालयका कक्षा १२ सम्मका विद्यार्थीले भाग लिएका हुन् । गत वर्ष पोखरा–१८, भकुण्डेस्थित शान्ता माविले दोहोरो उपाधि जितेको थियो ।

प्रतियोगितामा १२ लाख ५० हजार आम्दानी हुने र ११ लाख खर्च लाग्ने आयोजकको अनुमान छ । बचत भलिबल खेलको विकासको निम्ति कोष स्थापना गरिने तथा सृजना विकास केन्द्रद्वारा संचालित सृजना बालगृहमा सहयोग गरिने सिर्जना विकास केन्द्रका कृष्णबहादुर थापाले जनाए ।

२०४३ सालमा डम्बरबहादुर केसी नेतृत्वको तत्कालीन सिजना युवा क्लबले रनिङ शिल्ड प्रतियोगिता आयोजना गरेर खेलकुदको विकासमा पनि योगदान पु¥याएको थियो ।

सृजना विकास केन्द्रको नाउँमा रुपान्तरित संस्थाले महिला, बालबालिका, शिक्षा, स्वास्थ्य, वातावरण लगायत क्षेत्रमा पनि क्रियाशील रहेको संस्था अध्यक्ष कृष्णबहादुर थापाले बताए । विगतदेखिको विरासत जोगाउँदै सृजनाले अहिले सामुदायिक विद्यालयस्तरमा छात्रछात्रा भलिबललाई निरन्तरता दिएको उनले बताए ।

पोखरा ८, सिमलचौरमा प्रधानकार्यालय रहेको सृजनाकै पहलमा जनप्रिय क्याम्पस, सिर्जना बहिरा विद्यालय, सृजना बालगृह, सृजना लघुबित्त (हाल जाल्पा लघुवित्त) खुलेका हुन् ।

कमेन्टहरु
Loading...