सन्दीप लामिछाने आबद्ध जमैका सेमिफाइनलमा

 

काठमाडौँ । सन्दीप लामिछाने आबद्ध जमैका तल्लावाज क्यारेबियन प्रिमियर लिग सीपिएल क्रिकेटको सेमिफाइनल पुगेको छ । यद्यपि लिग चरणका पछिल्ला चार खेलमा जित हात पार्न सकेन। तीमध्ये एउटा खेल वर्षाका कारण रद्ध भएको थियो।

लिग चरणमा १० खेल खेलेको जमैका केवल तीन जित हात पारेर ७ अंकसहित चौथो हुँदै अन्तिम चारमा पुगेको छ। उसले सेमिफाइनलमा मंगलबार लिग चरणमा कुनैपनि खेल नहारेको ट्रिनबागो नाइट राइडर्ससँग प्रतिस्पर्धा गर्ने छ।

लिग चरणको आफ्नो अन्तिम खेलमा जमैकाले सोमबार बिहान सेन्ट लुसिया जुक्ससँग ११ रनको हार बेहोर्‍यो। एक सय ४६ रनको लक्ष्य पाएको जमैकाले पहिलो विकेटका लागि ११।४ ओभरमा ८४ रनको साझेदारी गरे पनि खेल हार्‍यो ।

त्यसअघि सन्दीपले फेरी एकपटक कसिलो बलिङ गरे। उनले चार ओभरमा एक मेडन राख्दै २० रन खर्चिएर एक विकेट हात पारे। प्रतियोगिताको यो सिजन उनले पहिलो मेडन ओभर बलिङ गरेका हुन्।

उनले आफूले बलिङ गरेका हरेक खेलमा विकेट लिएका छन्। प्रतियोगितामा उनले १२ विकेट लिएका छन्। ९ खेलमा ३६ ओभर बलिङ गरेका उनले एक सय ८२ रन खर्चँदै प्रतिओभर ५।०५ रन औसतमा बलिङ गरेका छन्।

प्रतियोगितामा यो सिजन सर्वाधिक विकेट लिने बलरको सूचिमा जमैकाकै मुजिब उर रहमान १५ विकेटसहित शीर्षस्थानमा छन्। १५ विकेट लिएका गुयाना एमाजन वारियरका इमरान ताहिर बलिङ इकोनोमीमा पछाडि परेर दोस्रोमा छन्।

सेन्ट लुसियाका स्कट कगलैजिनले १४ र केस्रिक विलियम्सले १३ विकेट लिएका छन्। सन्दीप पाचौँमा छन्। तर शीर्ष पाँच बलरमध्ये सबैभन्दा किफायती बलिङ इकोनोमीमा सन्दीप पहिलो स्थानमा छन्।

अर्को सेमिफाइनलमा सेन्ट लुसिया र गुयाना भिड्नेछन्।

कमेन्टहरु
Loading...