वैज्ञानिक भन्छन् कोरोना खोप आएपनि जनजीवन सामान्य बन्दैन

काठमाडौं । कोरोना भाइरसविरुद्धको प्रभावकारी खोप पत्ता लागेपनि यसले जनजीवन सामान्य नबन्ने चेतावनी वैज्ञानिकले दिएका छन् । खोप प्रयोगमा आएको अवस्थामा पनि आउँदो वसन्तमा जनजीवन सामान्य बन्न नसक्ने नेतृत्वदायी वैज्ञानिक समूहहरुको भनाइ छ ।

कोरोना भाइरस महामारीको एक मात्र अचूक ओखती वा विकल्पका रुपमा खोपलाई लिइएको छ । अहिले विश्वभरका वैज्ञानिकहरु सुरक्षित र प्रभावकारी खोपको खोजीमा लागेका छन् ।

२०० भन्दा बढी खोप निर्माणको चरणमा छन्, त्यसमध्ये ४० भन्दा बढी खोप मानवीय परीक्षणको विभिन्न चरणमा रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । तर खोप पत्ता लागि प्रयोगमा आउन थाले पनि आउँदो वसन्तमा जनजीवन सामान्य अवस्थामा फर्किन नसक्ने वैज्ञानिकहरुले चेतावनी दिएका हुन् ।

रोयल सोसाइटी अन्तर्गत डेल्भ इनिसिएटिभ अन्तर्गत विभिन्न क्षेत्रका वैज्ञानिकले गरेको अनुसन्धान प्रतिवेदनमा खोपका विषयमा तथ्यपरक भएर सोच्नु पर्ने र अपेक्षा पनि सोही अनुसारको हुनु पर्ने उल्लेख छ । खोप आउँदैमा महामारीको सबै समस्या समाधान नहुने उनीहरुले बताएका छन् ।

खोप प्रयोगमा आइसकेपछि पनि संक्रमण फैलिन नदिनका लागि लागु गरिएका प्रतिबन्धहरु बिस्तारै मात्रै फुकुवा गर्नु पर्ने वैज्ञानिकहरुले सो प्रतिवेदनमा सुझाव दिएका छन् ।

बेलायत तथा अमेरिकासहितका देशमा यहि वर्षको अन्त्यसम्ममा केही मानिसले खोप पाउने र आउँदो वर्षको सुरुमा बिस्तारित रुपमा खोप लगाउने क्रम सुरु हुने अपेक्षा गरिएको छ । अमेरिकामा त खोपले राजनीतिक विषयकै रुप लिएको छ ।

तर रोयल सोसाइटीको रिपोर्टले भने खोप तत्काल उपलब्ध नहुने तर्फ सचेत गराउँदै खोपको विकास लामो प्रक्रिया रहेको उल्लेख गरेको छ ।

कमेन्टहरु
Loading...