वर्षा र भारी हिमपातले चिसो बढ्ने, प्राधिकरणले दियो यस्तो चेतावनी

 

काठमाडौँ । पश्चिमी वायुसँगै आएको पश्चिमी न्युन चापीय प्रणाली र अबर सागरमा बनेको न्यून चापीय क्षेत्रका कारण नेपालमा मौसम प्रतिकूल बन्दै गएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार पश्चिम नेपालबाट प्रवेश गरेको यो प्रणालीले त्यस क्षेत्रमा बदली कायम गर्नुका साथै उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भएको छ ।

यो प्रणालीले सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनीका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हिमपात हुने आँकलन महाशाखाले गरेको छ । आज मुलुकका धेरै क्षेत्रमा बदली रहेको छ, यसले तराई र पहाडी भूभागमा वर्षा पनि हुने ठानिएको छ ।

काठमाडौंमा बिहान घाम लागे पनि बदलीले ढाक्दै गएको छ । हिमपात र वर्षाका कारण जाडो झन बढ्न सक्ने भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सचेतना अपनाउन भनेको छ ।

प्रवक्ता डिजन भट्टराईले जारी गरेको प्रेस नोटमा मौसम प्रतिकुल भएर पर्वतारोहण, हवाइ र यातायातसहित दैनिक जनजीवन प्रभावित हुनसक्ने चेतावनी दिइएको छ । ‘हिमाली भूभागमा हिमपहिरोसहित अत्यधिक चिसो बढ्ने, पहाडी र तराईका भूभागमा वर्षासहित चिसोको जोखिम रहेकाले सतर्कता अपनाउन प्राधिकरणले भनेको हो । योसँगै तराईमा शितलहर चल्न सक्ने आँकलन गरिएको छ ।

 

कमेन्टहरु
Loading...