रुपातालमाथिको झोलुङ्गे पुल पर्यटकका लागि नयाँ गन्तव्य

 

पोखराको प्रमुख ताल रुपामाथि झोलुङ्गे पुल निर्माण गरिएको छ । पर्यटकीय आकर्षणका लागि तालमाथि पुल बनाइएको हो । २ सय ६९ मिटर लामो पुल तालमाथि बनेपछि पर्यटकको आकर्षण तालमा परेको छ । पोखरा महानगरपालिका वडा नम्बर ३१ र रुपा गाउँपालिका वडा नम्बर ६ जोड्ने गरी पुल निर्माण गरिएको हो ।

पुलको उद्घाटन नहुँदै पर्यटकहरू घुम्न जाने क्रम बढेको पोखरा ३१ का अध्यक्ष ढकनाथ कँडेलले जानकारी दिए । भंगारा पचभैया ट्रेल ब्रिज नामाङ्करण गरिएको उक्त पुल गण्डकी प्रदेश सरकारको १ करोड ३६ लाख ९६ हजार लागतमा बनेको हो । ‘तालमाथि झोलुङ्गे पुल यो नै पहिलो होला । अहिले दिनदिनै फोटो खिच्न आउनेहरूको हुल लाग्छ,’ उनले भने, ‘सम्भावना भएर पनि पछाडि परेको रुपा क्षेत्र यही पुलका कारण चहलपहल बढ्ने विश्वास छ ।’

४ वर्षअघि निर्माण सम्झौता भएको पुल कोरोना संक्रमणका कारण रोकिएको थियो । पुल ३ वर्ष ढिलो गरी निर्माण भएको पूर्वाधार विकास कार्यालय कास्कीका इन्जिनियर हरि थापाले जानकारी दिए । २०७६ साल जेठ २१ गते एक वर्ष भित्र निर्माण सक्ने गरी सम्झौता भएको थियो ।

कमेन्टहरु
Loading...