योगेश भट्टराईको स्टाटस, ‘ मेरो हस्ताक्षर सहितको निर्णय सार्वजनिक गर्न चुनौती दिन्छु’

पूर्व पर्यटनमन्त्री योगेश भट्टराईले नारायणहिटी दरबार संग्राहालयमा रेस्टुरेन्ट खोल्न दिनेबारे आफ्नो संलग्नता नरहेको बताएका छन् ।

नेकपा एमाले सचिव समेत रहेका भट्टराईले फेसबुक मार्फत नारायणहिटी दरबार संग्रहालय परिसरमा रेस्टुरेन्ट निर्माण गर्न दिनेबारे भएका कुनै पनि निर्णयमा आफ्नो संलग्नता नरहेको बताएका छन् ।

‘नारायणहिटी दरबार संग्राहालयका बारेमा सार्वजनिक भएको समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । त्यस सम्बन्धि कुनै पनि निर्णयमा मेरो संलग्नता नरहेको स्पस्ट गर्दछु साथै त्यस बारेका कुनै पनि निर्णय मेरो जानकारीमा समेत नरहेको सबिनय अनुरोध गर्दछु । आफ्नो संलग्नता नरहेको कुनै पनि कामप्रति मेरो जवफदेहीता नरहने स्वत: स्पस्ट छ ।’,उनले लेखेका छन् ।

उनले आफ्नो संलग्नताबारे प्रमाण सार्वजनिक गर्न चुनौती दिदैं छविमा आँच आउने क्रियाकलाप नगर्न आग्रह समेत गरेका छन् ।

‘बिना कसुर कसैको सार्वजनिक छबीमा आँच आउने समाचार र टिप्पणी नगर्न सम्बन्धित सबैमा अनुरोध गर्दछु । मेरो संलग्नता रहेको भए सत्य तथ्य र मेरो हस्ताक्षर सहितको निर्णय कपी वा मेरो लिखित निर्देशन पत्र सार्वजनिक गर्न म चुनैती दिन्छु । स्मरणरहोस म मन्त्री हुनु पूर्व नै त्यहाँ कफी हाउस बनिसकेको थियो ।’,उनले लेखेका छन् ।

कमेन्टहरु
Loading...