मौसम परिवर्तनको असरः भाइरल ज्वरोका बिरामी बढ्दो

मौसममा भएको परिवर्तनसँंगै सप्तरीको बोदेबर्साइन नगरपालिका–५ स्थित शत्रुध्न अस्पतालमा भाइरल ज्वरोका बिरामी वृद्धि भएका छन् ।

विगत पाँच÷सात दिनदेखि अस्पतालमा उच्च ज्वरो र रुघाखोकीका बिरामी आउने क्रममा वृद्धि भएको अस्पतालका मेडिकल अधिकृत डा अरविन्द्रकुमार यादवले जानकारी दिए ।

उहाँले उपचारका लागि अस्पताल आउने बिरामीमध्ये अहिले ६०÷७० प्रतिशत भाइरल ज्वरोका रहेको बताए । मौसम परिवर्तन, दूषित पानी र खानपिनमा सतर्कता नअपनाउँदा भाइरल ज्वरोका बिरामी बढेको चिकित्सकले बताएका छन् । बिरामीमा शुरुमा रुघाखोकी लाग्ने, ज्वरो आउने, टाउको दुख्नेलगायत लक्षण देखापर्ने गरेको डा यादबको भनाइ छ । भाइरल ज्वरोको उपचारका लागि अस्पतालमा दैनिक २५÷३० बिरामी आउने गरेको अस्पतालले जनाएको छ ।

विगत केही दिनयता तराई मधेशमा अत्यधिक गर्मीका कारण वातावरणमा आएको परिवर्तनले मानिसमा भाइरल ज्वरोको प्रकोप देखिएको स्थानीयवासी उमेशकुमार साहले बताए । अत्यधिक गर्मीका कारण शरीर तातो नै रहेको बेला अचानक पानीमा भिज्नु वा चिसो पदार्थ पिउनाले पनि शरीरले तापक्रम अनुकूलरूपमा मिलाउन नसक्दा ‘इन्फेक्सन’ भएर भाइरल ज्वरो हुने गरेको चिकित्सकको भनाइ छ ।

भाइरल ज्वराको प्रकोप बढेको बेला झोल पदार्थ बढी खान, पानी बढी पिउन, खानपिन र सरसफाइलगायतका जनस्वास्थ्यको मापदण्डमा ध्यान दिन सबैमा आग्रह गरिएको बोदेबर्साइन नगरपालिका स्वास्थ्य शाखाका संयोजक वैद्यनाथ साहले बताए।

यस्तै सप्तरीको राजविराजस्थित गजेन्द्र अस्पतालमा पनि उपचारका लागि आउने भाइरल ज्वराका बिरामीको सङ्ख्या बढ्दो छ ।

कमेन्टहरु
Loading...