मिस तामाङ्गको ग्राण्ड फिनाले भोली हुने

पोखरा । पोखरा– १४ छिनेडाँडाकी कृतिका तामाङ्ग अहिले दश जोड दुईमा अध्ययनरत् छिन् । मिस तामाङ्ग पोखरा २०२३ की प्रतियोगीका रुपमा उनले यो पटक भाग लिएकी हुन् ।

तामाङ्ग भएर पनि तामाङ्ग समुदायको विषयमा थाहा नपाउँदा आफूलाई निकै खिन्नता महसुस गर्ने उनी आफ्नो समुदायको भाषा, संस्कार र संस्कृतिका बारेमा बुझ्न मिस तामाङ्ग पोखरामा सहभागी हुन आइपुगेकी हुन् ।

मिस तामाङ्ग पोखराका अर्का प्रतिस्पर्धी सुमिता तामाङ्ग पोखरा सराङ्गकोट निवासी हुन् । भर्खरै व्यवस्थापन संकायमा दश जोड दुई सकेकी सुमिता आफ्नो प्रेरणा तथा साहसको प्रतिकका रुपमा आमालाई मान्छिन् । आत्मविश्वासी बन्न चाहने सुमितालाई मिस तामाङ्ग पोखरामा सहभागी भइसके पछि आफ्नो समुदायको बारेमा धेरै विषयहरुमा जान्न पाएकोका खुसी लागेको छ ।

मिस तामाङ्ग पोखराका अर्का प्रतिस्पर्धी रेनुका तामाङ्ग पोखरा २७ रिठेपानीमा बस्छिन् । भर्खरै सुनकोशी माविबाट दश जोड दुइको अध्ययन पुरा गरेकी रेनुका पेशागत रुपमा एक शिक्षिका पनि हुन् । उनले ओखलढुङ्गाको श्री सुनकोशी माविमै अध्यापन गराउछिन् ।

आफ्नो आमाको प्रेरणाको कारण उनि मिस तामाङ्ग पोखरामा सहभागी हुन आइपुगेकी हुन् । उनले प्रतियोगितामा सहभागि भए पछि तामाङ्ग समुदायको बारे आफुले थाहा नपाएको इतिहास देखि आज सम्मका विषयमा जानकारी पाएकोमा दंग छिन् ।

पछिल्लो युवा पुस्तालाई कला, संस्कृतिको जर्गेनाका लागि सघाउने उद्देश्यले समाजले प्रतियोगिता आयोजना गर्दै आइरहेको बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङ्गले बताए । बढ्दो आधुनिकता सँगै आफ्नो संस्कार र संस्कृतिबारे युवा पुस्ताको चासो कम हुँदै गएकाले तामाङ्ग समुदायको संस्कृति जर्गेना गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको संयोजक राम लामाले जानकारी दिए ।

मिस तामाङ पोखराको ग्राण्ड फिनाले माघ १ गते हुने भएको छ । बैदाम तामाङ सेवा समाज पोखराको आयोजनामा हुने प्रतियोगिताको ग्राण्ड फिनाले पोखरा सभागृहमा आँउदो आइतबार हुने भएको समाजका अध्यक्ष ज्याक तामाङ्गले जानकारी दिए ।

सातौं संस्करण प्रतियोगितामा लक्ष्मी तामाङ्ग, रेनुका तामाङ्ग, अर्विना तामाङ्ग, जुना तामाङ्ग, निशा तामाङ्ग, विकिता तामाङ्ग, सुप्रिया तामाङ्ग, योगिता तामाङ्ग, आकृति तामाङ्ग, विपना तामाङ्ग, मनिषा तामाङ्ग, जिना तामाङ्ग, सुमित्रा तामाङ्ग, कृतिका तामाङ्ग र रोश्मा तामाङ्ग प्रतियोगीका रुपमा सहभागी छन् ।

प्रतियोगिताको विजेताले नगद १ लाख रुपैयाँ पुरस्कार, ताज, ट्रफी, फस्ट रनरअपले नगद ५० हजार रुपैयाँ सहित ताज, ट्रफी, प्रमाणपत्र प्राप्त गर्नेछन । त्यस्तै सेकेण्ड रनरअपले नगद ३० हजार रुपैयाँ पुरस्कार, ताज, ट्रफी, प्रमाणपत्र हात पार्नेछन् । भ्युवर्स च्वाइसका रुपमा एकजनाले नगद २० हजारले पुरस्कार प्राप्त गर्ने कार्यक्रम संयोजक राम लामाले जानकारी दिए ।

कार्यक्रमबाट बचत रकम लेकसाइडमा समाजले निर्माण गरेको रिन्छिङ तोर्जेत तामाङ शान्ति गुम्बा सहयोगार्थ खर्च गरिने समाजका अध्यक्ष ज्याक तामाङले बताए । ग्राण्ड फिनालेमा कालो चश्मा गीतका चर्चित गायिका तथा कलाकार डोल्मा ह्याल्मोले गीत गाउने छन् । कार्यक्रम गण्डकी प्रदेशको मुख्य मन्त्री खगराज अधिकारीको प्रमुख आतिथ्यतामा हुने आयोजकले जनाएको छ । कलाकार तथा बरिष्ठ पाइलट विजय लामा कार्यक्रमको आकर्षण रहने छ ।

कमेन्टहरु
Loading...