मानव सेवा आश्रमको भवन निर्माणस्थल मिस नेपाल खतिवडाद्वारा अवलोकन

लमजुङ । यहाँ १ आश्रम भवन निर्माणका लागि मानव सेवा आश्रमका प्रमुख संरक्षक गोविन्द टन्डन, केन्द्रीय अध्यक्ष रामजी अधिकारी, पूर्व मिस नेपाल श्रृंखला खतिवडालगायत प्राविधिक टोलीले स्थलगत अध्ययन तथा अवलोकन गरेको छ । बेंसीसहर नगरपालिका–९ पाखाथोक बालसपना समाजले उपलब्ध गराएको ५ रोपनी जग्गामा निर्माण हुने मानव सेवा आश्रमको लागि आज उनीहरुले स्थलगत अध्ययन तथा अवलोकन गरेका हुन् । सो अवसरमा आश्रमका प्रमुख संरक्षक टन्डनले मानवीयताले गर्ने सबैभन्दा ठूलो काम मानवीय सेवा रहेको बताए।

समुदायस्तरमा भएका संघसंस्था, सर्वसाधारण सबै मिलेर अघि बढेमा आश्रम भवन निर्माण गर्न सहज हुने उनको भनाई छ । आश्रमका केन्द्रीय अध्यक्ष अधिकारीले भने, ‘नेपाललाई विसं २०८२ सम्म सडक मानवमुक्त घोषणा गर्ने भनिए पनि सोभन्दा अघि नै विसं २०७८ फागुनसम्म घोषणा गर्ने गरी अघि बढिरहेका छौं ।’ लमजुङलाई जिल्लालाई सो भन्दा अघि नै सडकमा नवमुक्त घोषणा गर्न लागेको उनको भनाई छ । आश्रम निर्माणका लागि अर्थ संकलन गर्ने उद्देश्यले चाँडै महायज्ञ आयोजना गरिने बताइएको छ ।

इन्जिनियर तथा पूर्व मिस नेपाल खतिवडा स्थलगत अवलोकन गरेपछि यहाँ आश्रम भवन निर्माणको लागि चाँडै नक्शा निर्माण गर्ने बताएकी छिन् । यहाँ जिल्लाकै नमूना तथा परम्परागत रुपमा आश्रम बनाउन भूमिका निर्वाह गर्ने उनको भनाई छ । नगरप्रमुख गुमानसिंह अर्याल, वडाध्यक्ष शरद बराललगायतले यहाँ आश्रम भवन निर्माणका लागि आ–आफ्नो भूमिका तथा तहबाट विभिन्न सहयोग गर्ने बताएका छन् ।

आश्रमकी संयोजक अनिता अधिकारीले यस भवन निर्माणका लागि नक्सा तयार गर्नेदेखि आसपासमा विभिन्न संरचना तयार पूर्व मिस नेपाल खतिवडाले गर्ने बताइन् । आश्रममा १ सय जना सडक मानव अट्ने भवन, शौचालय, कार्यालयदेखि विभिन्न संरचना निर्माण गर्ने आश्रमले जनाएको छ । आश्रमका अनुसार त्यस्तै यस आश्रम परिसरमा बाल सपना समाजसँग समन्वय गर्दै आश्रमले बाल उद्यान, ज्येष्ठ नागरिक आश्रम, ब्यायमशाला, उपचार कक्षलगायतका संरचना निर्माण गर्ने भएको छ ।

आश्रम निर्माणका लागि गत मंसिर १७ गते बाल सपना समाज लमजुङले निःशुल्क ५ रोपनी जग्गा प्रदान गरेको थियो । समाजको नाममा रहेको १३ रोपनी जग्गामध्ये ५ रोपनी जग्गा सरकारी मूल्यअनुसार १ करोड ६८ लाख ६ हजार बराबरको जग्गा आश्रमलाई निःशुल्क उपलब्ध गराइएको समाजका अध्यक्ष बालकृष्ण बरालले बताए । गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले आश्रमको भवन निर्माणका लागि यस चालू आर्थिक वर्षमा ५० लाख विनियोजित गरेको आश्रमले जनाएको छ ।

यस आश्रम २०७३ चैत १२ गते छैटौं शाखाका रुपमा यस नगरपालिका–७ हाइस्कुल चोकमा एक स्थानीयवासीको घर भाडामा लिएर आश्रम सञ्चालन गर्दै आएको छ । यस आश्रममा हाल ३२ जना बेवारिसे सडक मानवले आश्रय लिइरहेका छन् । रासस

कमेन्टहरु
Loading...