महोत्सवमा पशुपति र प्रिती आलेका गीतमा नाचे दर्शक

लेखनाथ । लेखनाथमा जारी १७ औं संस्करणको लेखनाथ महोत्सवमा मंगलबार १५ हजार दर्शकले अवलोकन गरेका छन् । यसैगरी २७ लाख रुपैयाको कारोबार भएको प्रचार प्रसार उपसमितिका संयोजक गोपीचन्द्र बास्तोलाले जानकारी दिए ।

आधा दर्जन गीत संगीतमा प्रस्तुती दिएका चर्चित लोकदोहोरी गायक पशुपति शर्मा दर्शकहरुका विचमा लोकप्रिय बने । उनले लुटन सके लुट कान्छा, लुट्न सके लुट भन्ने गीत प्रस्तुत गर्दा दर्शकहरुले समर्थनमा हुटिङ गरेका थिए । उनले आफ्ना चर्चित आधा दर्जन गीतबाट महोत्सवका दर्शकहरुलाई मनोरञ्जन दिलाएका थिए ।

गायक शर्मा र लोकदोहोरी गायीका प्रिती आलेका विच केही समय दोहोरी व्याटल समेत भएको थियो । शर्मा र आले सँगै गायीका सरस्वती लामिछाने र बालचन्द्र बरालले समेत मनोरञ्जन दिलाएका थिए ।

महोत्सवमा डायमण्ड मा.वि र लेकसिटी एकेडेमी एण्ड मण्टेश्वरीका विद्यार्थीहरुले सामुहिक नृत्य प्रस्तुत गरेका थिए भने शिशुवा सतसंगको टोलीले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

महोत्सवको अर्को आकर्षणको रुपमा रहेको रत्यौलीमा विश्वकर्मा आमा समूह पोखरा २८ र नमूना कृषक आमा समूह पोखरा २६ को प्रस्तुती रहेको थियो ।
महोत्सवमा राखिएका प्राय सवै स्टलबाट सन्तोषजनक व्यापार भएको संघका अध्यक्ष एवं महोत्सव मुल आयोजक समितिका संयोजक छत्रधर आत्रेयले जानकारी दिए । महोत्सवमा फेन्सी, गार्मेन्ट तथा भाडाका स्टलहरुमा उल्लेख्य व्यापार भएको व्यवसायीहरुले बताएका छन् । होटल तथा रेष्टुरेण्टमा पनि सन्तोषजनक व्यापार भएको रेष्टुरेण्टवालाले बताए ।

महोत्सव आधा आधी तर्फ उन्मुख भैरहँदा प्रतिकुल मौसमका बावजुद पनि दर्शकहरुको उत्साहजनक उपस्थिति रहेको अध्यक्ष आत्रेयको भनाई रहेको छ ।
महोत्सव कोभिड विरुद्धको भ्याक्सिनेसन स्थल समेत बनेको छ । मंगलबारसम्म एकसय ३७ जनाले कोभिड विरुद्धको भ्याक्सिन लगाएका छन् ।

महोत्सवको वुधबारको आकर्षणमा प्रमोद खरेल रहेका छन् । यसैगरी लोकदोहोरी तर्फ प्रजापति पराजुली र राजन गुरुङ्ग एवं शिला आले र मिना नेपालीलाई आयोजकले स्टेजमा उतार्ने तयारी गरेका छन् ।

महोत्सवमा कृषिजन्य स्थानीय उत्पादन देखी अटो, सूचना प्रविधि, खाद्य, लत्ताकपडा, सेवा सुचना लगायतका तीन सय भन्दा बढी स्टल रहेका छन् । महोत्सव चैत्र सात गतेसम्म संचालन हुनेछ ।

कमेन्टहरु
Loading...