भूकम्पीय जोखिमबाट बच्न सुरक्षित संरचनाहरू निर्माण आवश्यक : बागमती प्रदेश प्रमुख शर्मा

बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले भूकम्पीय जोखिमबाट बच्न सुरक्षित संरचना निर्माण गर्नुपर्ने बताएका छन् । २४औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा आइतबार सन्देश जारी गर्दै विभिन्न समयमा गएका भूकम्पबाट ज्यान गुमाएका व्यक्तिहरूमा श्रद्धाञ्जलीसमेत व्यक्त गरेका छन् ।

२ माघ १९९० मा गएकाे भूकम्पको त्रासद सम्झनामा यो दिवस मनाउने गरिएको सन्दर्भ उल्लेख गर्दै उनले १२ वैशाख २०७२ को भूकम्पपछि पुनर्निर्माणको काम सम्पन्न हुने चरणमा रहेको बताए । ‘भूकम्पबाट क्षति भएका संरचनाहरू पुनर्निर्माण एवं पुनःस्थापनाको कार्यमा लाग्ने र सहयोग पुर्‍याउने सम्बन्धित सम्पूर्ण पक्षहरूमा धन्यवाद व्यक्त गर्न चाहन्छु,’ प्रमुख शर्माले भनेका छन् ।

शर्माले भूकम्पीय जोखिमका हिसाबले नेपाल ११औं स्थानमा रहेको तथ्यलाई मध्यनजर गर्दै पूर्वाधार निर्माणमा आचारसंहिताको पूर्णपालना गरिए यसबाट जनधनको क्षति कम गर्न सघाउ पुग्ने विश्वास पनि व्यक्त गरेका छन् । उनले सन्देशमा भनेका छन्, ‘आजका दिनलाई औपचारिकतामा सीमित नगरी नागरिकलाई भूकम्पबाट हुने क्षति न्यूनीकरण गर्न आवश्यक मापदण्ड निर्माण गरी कार्यान्वयन गर्ने वातावरण बनाउन आग्रह गर्दै यो दिवसले सचेत र सुरक्षित रहन सबैलाई प्रेरित गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।’

कमेन्टहरु
Loading...