भाषाप्रतिको मोह: आमाहरु अंग्रेजी पढ्दै, छोराछोरी संस्कृत

तनहुँ संवादाता ।

पढ्नको लागि उमेरले छेक्दैन भन्ने गतिलो उदाहरण प्रस्तुत गरेका छन् तनहुँको व्यास नगरपालिका ३ स्थित महर्षि वेदव्यास संस्कृत माध्यामिक विद्यालयमा अध्ययन गर्ने आमाहरुले ।

विद्यालयमा अधिकांस ६० वर्ष नाघिसकेका आमाहरु अध्ययन गर्दै आएका छन् । उनीहरु बिहान सबेरै उठ्छन् । छिटोछिटो उठी विहानको काम गर्छन् र छोराछोरीलाई विद्यालय पठाउँछन् । त्यसपछि घरधन्दा गरी कपाल कोरी झोला बोकेर ११ बजे विद्यालय पुग्छन् र पढाइ सुरु गर्छन् । उनीहरुको यो दैनिकी नै हो ।

बुढेसकालमा पनि उनीहरुको रुचि पढाइप्रति देख्दा शिक्षकशिक्षिकासमेत दंग छन् । केही आमाहरु अंग्रेजी सिक्नको लागि पढ्न आएका छन् भने केही आफुले दस्तखत समेत गर्न नजानेकाले सिक्न आए । अधिकांस आमाहरु भने सानो उमेरमा पढ्ने इच्छा भएपनि वाध्यतावस पढ्न नपाएकाले फेरी पढ्ने इच्छा प्रकट भएर पढ्न आए ।

व्यास नगरपालिका– ३ देउरालीनगर बस्ने ६० बर्षीय धनमाया गौली उठ्ने बित्तिकै घरको काम गर्न सुरु गर्छिन् । समयमै काम सकिएन भने विद्यालय जान ढिलाइ हुने र पढाइ पनि छुट्ने चिन्ता उनीमा छ । त्यसैले घरको काम छिटोछिटो गरि छोराछोरीलाई खाना खुवाई विद्यालय पठाउछिन् र आफु पनि झोला भिरेर विद्यालय पुग्छिन । उनको यो दैनिकी नै हो ।

त्यस्तै होमकुमारी श्रेष्ठ पनि अध्ययन गर्न आउँछिन् । उनी पनि विहानको पुजापाठ गरी खानापकाइ सबैलाई खुवाइसकेर विद्यालय जाने गरेकी छिन् । उनीहरुलाई पढ्ने इच्छा त छ तर विभिन्न कठिनाइले गर्दा समस्या पनि छ । समस्याका बाबजुद पनि उनीहरु अंग्रेजी बोल्न मन भएको तर भाषा नजानेको कारण पढ्न आएको बताउँछन् ।

विद्यालयले गृहिणी शिक्षा कार्यक्रम संचालन गरेपछि त्यस क्षेत्रका आमाहरु कखरा सिक्न विद्यालय जान थालेका हुन् । पढाइप्रति आमाहरुको मोह देखेर खुसी लागेको विद्यालयका प्रधानाध्यापक तोयानाथ निरौलाले बताए ।

६० कटिसक्नु भएका आमाहरुले पढाइप्रति देखाएको लगाव र रुचिको जताततै प्रसंसा भएको छ । आमाहरु आएर पठनपाठन गर्दा विद्यालयको पनि गरिमा बढेको छ ।

वहाँहरुको लगाव देखेर अन्यत्रका आमाहरु पनि पढाइप्रति आकर्षित हुन प्रेरणा मिल्ने प्रधानाध्यापक निरौलाको भनाइ छ ।

अधिकांस आमाहरु सानोमा पढ्ने इच्छा हुँदाहुदै पनि बाध्यताका कारण पढ्ने अवसर गुमाएको गुनासो गरेका छन् ।
त्यस्तै ७१ वर्षीय मिश्रीमाया घर्ती क्षेत्री दस्तखत गर्न पनि नजानेकाले पढ्नको लागि विद्यालय आएको बताइन् ।

मैले दस्तखत पनि गर्न जानेकी थिइन । सही गर्न नजान्दा साहै मन खिन्न हुने रहेछ । त्यसपछि दस्तखत गर्न पनि जान्नको लागि पढ्न आएको उनले बताइन् ।

‘अहिले पढ्न र लेख्न पनि जानेको छु दुई वर्ष अघिदेखि विद्यालय पढ्न आएको हुँ अहिले पढ्न र लेख्न जानेको छु विद्यालयमा हामीजस्ताका लागि यो पढ्ने अवसर मिलेको छ ।’,उनले भनिन् ।

विद्यालयमा गृहिणी शिक्षा कार्यक्रमा संचालन भएपछि आँफुहरुलाई चुनौती र अवसर दुबै मिलेको उनको भनाइ छ ।

गृहिणी शिक्षा कार्यक्रम सुरु गरेपछि दमौली बजार र आसपासका आमाहरु अध्ययनको लागि आउने गरेको बिद्यालयका शिक्षिका बिनु श्रेष्ठको भनाइ छ । केही पनि नजान्नुभएको आमाहरु अहिले मोवाइलमा म्यासेज गर्नी, गिता, रामायण पढ्नी गरेको उनले बताइन् ।

शिक्षा विभाग अन्तर्गत रहेर व्यास नगरपालिकाको समन्वयमा उक्त विद्यालयमा गृहिणी शिक्षा कार्यक्रम संचालन गरिएको हो । विहान ११ देखि तीन बजे सम्म गृहिणी शिक्षा कार्यक्रमको पढाइ हुने विद्यालयमा छब्बीस जना आमाहरु अध्ययन गर्छन । अंग्रजी बोल्ने इच्छा भएका आमाहरु विद्यालयमा नियमित आइ अध्ययन गर्न थालेका छन् ।

यता आमाहरु अंग्रेजी सिक्ने मोहका साथ विद्यालय आउने गर्छन् भने छोराछोरीहरु संस्कृत भाषा सिक्न विद्यालय आउने गरेका छन् ।

उक्त विद्यालयमा संस्कृत भाषा सिक्न व्राह्मण क्षेत्री समुदायका बालबालिका भन्दा अन्य जातजातीका बालबालिका बढी आउने गर्छन् । अझ रोचक त के छ भने विद्यालयमा मुस्लिम बालबालिकाको आकर्षण बढेको छ । विद्यालयमा २९ जना त मुस्लिम समुदायका बालबालिका रहेको विद्यालयका प्रधानाध्यापक तोयानाथ निरौलाको भनाइ छ ।

विद्यालयमा संस्कृतका विभिन्न विषयका पढाइ हुने गरेको र त्यसमा मुस्लिम समुदायका विद्यार्थीको रुचि देखिएको उनले बताए ।

अन्य भाषाहरुको विकास पनि संस्कृत भाषाबाट नै भएकाले भाषा सिक्नको लागि संस्कृत पढ्न आएको कक्षा १० का रुस्तम मिया बताउँछन् ।

पछिल्लो समय संस्कृत भाषाप्रति मुस्लिम समुदायका बालबालिकाको आकर्षण बढ्दै गएको छ । घर नजिकै अन्य विद्यालय भएपनि संस्कृत भाषा पढ्ने इच्छा भएकाले उनीहरुको संस्कृत भाषाप्रति आकर्षण बढेको हो ।

एकातिर आमाहरुको अंग्रेजी सिक्ने मोह छ भने अर्कोतर्फ बालबालिकाको संस्कृत भाषा सिक्ने मोह छ । उनीहरुको रुचि र लगावले शिक्षकशिक्षिका पनि सन्तुस्ट छन् ।

संस्कृत भाषा पढ्न इच्छा भएकाले अध्ययन गर्न आएको १० कक्षामा अध्ययनरत विद्यार्थी नजिर मिया बताउँछन् । संस्कृत भाषा अन्य भाषाको पनि संरक्षक भएकाले पढ्ने रहर जागेको हो ।

‘नेपाली तथा अग्रेजी भाषाको सुरुवात पनि संस्कृत भाषाबाटै भएको रहेछ । त्यसैले ती भाषाको अर्थ र सुरुवात के रहेछ बुझ्नको लागि पनि पढ्न आएको’, उनले भने । ।

विद्यालयमा सस्कृत भाषा, व्याकरण, कर्मकाण्ड, ज्योतिषलगायतका विषय पढाइने प्रधानाध्यापक निरौला बताउँछन् ।

उनी भन्छन् विद्यालयमा १ देखि १२ कक्षा सम्म नै सस्कृत विषयको पठनपाठन हुने गर्छ । विद्यालयमा ब्राह्मण, क्षेत्री, दलित, जनजाती तथा मुस्लिम समुदायका बालबालिका अध्ययन गर्छन् ।

मानिसहरुको संस्कृत भाषाप्रति रुचि कम हुँदै गएकाले भाषा नै लोप हुने अवस्थामा पुग्दै गएपनि पछिल्लो समय भने आकर्षित भएका छन् । संस्कृतप्रतिको मोह जगाउनको लागि अभिभावक पनि सक्रिय हुनुपर्ने प्रधानाध्यापक निरौलाको भनाइ छ ।

कक्षा १ देखि १२ सम्म पढाई हुने उक्त विद्यालयमा कुल २८१ जना विद्यार्थी अध्ययनरत छन् भने गृहिणी शिक्षा कार्यक्रममा २६ जना छज् ।

कमेन्टहरु
Loading...