भारोत्तोलनबाट दर्जन पदकको आशा

पोखरा, १८ मंसिर/ १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत मंसिर १९ देखि २२ सम्म हुने आर्चरी प्रतियोगिताको आवश्यक तयारी पूरा भएको छ ।

पोखरा–१२, माटेपानीस्थित एसआर केसी क्याटरिङमा हुने प्रतियोगिताको लागि स्टेज लगायत आवश्यक तयारी पूरा भएको नेपाल भारोत्तोलन संघका केन्द्रीय सचिव एवं सागका लागि प्रतियोगिता निर्देशक तिलकबहादुर रावलले जानकारी दिए । प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान, भुटान, श्रीलंका र बंगलादेश सहभागी छन् । भुटानको पहिलो सहभागिता हो ।

पहिलो दिन बिहीबार ६ वेट क्याटगोरीमा प्रतिष्पर्धा हुनेछ । महिलातर्फ ४५, ४९ पुरुषतर्फ ५५, ६१ र अन्तिममा महिलातर्फ ५५, ५९ तौल समूहमा प्रतिष्पर्धा हुने साग पोखरा टेक्निकल कमिटीले जनायो । चार दिनसम्म २० स्वर्णका लागि महिला र पुरुषतर्फ १०–१० इभेन्टमा खेल हुनेछ ।

नेपालले जारी संस्करणमा भारोत्तोलनबाट दर्जन बढी पदकको आशा राखेको छ । ‘घरेलु मैदानको फाइदा उठाउँदै नेपालले यसपालि एक दर्जन बढी पदक जित्नेछ,’ संघका प्रवक्ता रुकेश तण्डुकार आशावादी हुँदै भने ।

भारोत्तोलनतर्फ १० औं संस्करणमा कमलबहादुर अधिकारीले पहिलो स्वर्ण जितेका थिए । १२ औं संस्करणमा भने नेपालले १ रजत र ३ कास्य हात पारेको थियो । १३ औं सागमा नेपालको तर्फबाट मार्चपासमा राष्ट्रिय झण्डा बोकेका कमलसहित पुरुषतर्फ ८ र महिलातर्फ ८ जना खेलाडी प्रतिष्पर्धामा सहभागी हुनेछन् ।

कमेन्टहरु
Loading...