भरतपुर अस्पताल चितवनको आकस्मिक बाहेकका सेवा बन्द

चितवन । कोरोना उपचार गर्ने भरतपुर अस्पतालको आकस्मिकबाहेकका सेवा बन्द गरिएको छ । कोरोना भाइरसको संक्रमणको उपचारमा खटिएका अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट, प्रसूति तथा स्त्रीरोग विभागीय प्रमुख र अन्य चिकित्सक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि अस्पतालको आकस्मिक सेवाबाहेक अन्य सेवा बन्द गरिएको हो । यस अस्पतालमा चितवनसहितका १९ जिल्लाका बिरामीको उपचार हुँदै आएको थियो ।

कोरोना संक्रमणका बिरामी पनि त्यही अनुपातमा उपचार भइरहेको थियो । अस्पताल प्रशासनले सूचना जारी गर्दै आइतबार साँझ ७ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि अन्य सेवा बन्द गरिएको जनाएको छ । अस्पतालले जनरल बहिरंग सेवा बन्द गरी एकीकृत आकस्मिक सेवामार्फत बिरामीको उपचार गरिने सूचनामा उल्लेख छ । यस्तै सघन उपचार कक्ष र प्रसूती विभागमा पनि नयाँ सेवा बन्द गरिएको छ । त्यहाँ रहेका बिरामीलाई व्यवस्थापन गरी निर्मलीकरणका लागि नयाँ सेवा बन्द गरिएको अस्पतालले जनाएको छ ।

यस्तै आकस्मिक शल्यक्रिया गर्नुपर्ने बिरामीको सेवा यथावत रहने अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिएका छन् । अस्पतालको आकस्मिक कक्षमा कार्यरत एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि बन्द गरिएको सो कक्ष शनिबार राति मात्रै खोलिएको थियो ।

रत्ननगर अस्पताललाई आइसोलेसन बनाइने

जिल्लामा कोभिड–१९ संक्रमितको संख्या बढ्दै गएपछि पूर्वी चितवनको रत्ननगर बहुलहर अस्पताललाई आइसोलेसन अस्पताल बनाइने भएको छ । अन्य बिरामीको तुलनामा कोरोना संक्रमित बढेपछि आइसोलेसनमा रुपान्तरण गर्न लागिएको हो ।

पूर्वी चितवनका चार नगरपालिकाका प्रमुखहको संयुक्त बैठकले उक्त निर्णय गरेको रत्ननगर नगरपालिका प्रमुख एवं अस्पतालका अध्यक्ष नारायण वनले बताए । अस्पताललाई तत्काल ३० श्ययाको आइसोलेसन कक्ष बनाउने उनले जानकारी दिएका छन् । अस्पतालका चिकित्सकलाई संक्रमण पुष्टि भएपछि हाल आकस्मिक कक्षबाहेक सबै बन्द रहेकाले पनि आइसोलेसन अस्पतालका रुपमा बनाएर अघि बढ्ने निर्णय भएको प्रमुख वनले बताएका छन् । रासस

कमेन्टहरु
Loading...