ब्याडमिन्टन खेलाडी कर्पोरेट हाउसमा आबद्ध

काठमाडौँ । काठमाडौँ ब्याडमिन्टन एकेडेमीले ब्याडमिन्टन खेलको प्रवर्द्धन गर्ने लक्ष्यसहित राष्ट्रिय खेलाडीलाई कर्पोरेट हाउससँग जोड्दै कार्यक्रमको सुरुवात गरेको छ ।

एकेडेमीले ६ देखि ९ पुससम्म त्रिपुरेश्वरस्थित कभर्डहलमा आयोजना गर्ने कुमारी बैंक काठमाडौँ टिम च्याम्पियनसिप २०२१ कर्पोरेट ब्याडमिन्टनमा नेपाली ब्याडमिन्टन खेलाडीलाई कर्पोरेट हाउससँग आबद्ध गर्दै ब्याडमिन्टन खेलको प्रवर्धनमा नयाँ आयामको थालनी गरेको हो ।

नेपालमा उच्च ८ बरीयतामा रहेका पुरुष तथा महिला खेलाडीलाई सार्वजनिक गर्दै आयोजक एकेडेमीले उक्त जानकारी गराएको हो ।

बैंकको प्रायोजन रहेको च्यामिपयनसिपमा ८ कर्पोरेट हाउसले बरीयतामा रहेका एक पुरुष र एक महिला खेलाडीहरूलाई आफूसँग आबद्ध गर्नेछन् भने अन्य खेलाडी कम्तीमा २ वर्ष संस्थामा कार्यरत रहेका व्यक्ति अथवा खेलाडी हुनुपर्ने छ ।

खेलाडीहरूलाई गोलाप्रथाका आधारमा कर्पोरेट हाउसमा आबद्ध गरिनेछ । करिब ४९ लाख ४६ हजार लागत रहेको च्यामिपयनसिपमा खेलाडीलाई दर्ता हुने बित्तिकै २० हजार प्रदान गरिनेछ ।

प्रत्येक खेलबापत थप २५ सय प्रदान गरिने छ । यसरी एक खेलाडीले समूह चरणबाटै बाहिरिएता पनि ३५ हजार प्राप्त गर्ने आयोजक एकेडेमीका महासचिव, नेपाल ब्याडमिन्टन संघका सदस्य एवं अन्तर्राष्ट्रिय अम्पायर दीपक थापाले जानकारी गराए ।

विजेता टिमका वरियता प्राप्त खेलाडीले ७५ हजार, उपविजेता टिमका खेलाडीले ६० हजार, तेस्रोले ५५ हजार र चौथोले ४७ हजार ५ सय प्राप्त गर्नेछन् । यस्तै टिम च्याम्पियनलाई रनिङ्ग ट्रफी प्रदान गरिनेछ भने पहिलो, दोस्रो, तेस्रो हुने खेलाडीहरूले मेडल तथा गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् ।

टिम च्याम्पियनसिपमा पुरुष एकल (वरियता प्राप्त शीर्ष ८ खेलाडीहरूबीच), महिला एकल (वरियता प्राप्त शीर्ष ८ खेलाडीहरूबीच), कर्पोरेट युगल (कर्पोरेट हाउसमा कम्तीमा दुई वर्ष कार्यरत व्यक्ति अथवा खेलाडीहरू), पुरुष युगल (शीर्ष खेलाडी र कर्पोरेट व्यक्ति अथवा खेलाडी), महिला युगल (शीर्ष खेलाडी र कर्पोरेट व्यक्ति अथवा खेलाडी) पाँच ईभेन्ट्समा प्रतिस्पर्धा हुने छ ।

जसमा पाँच मध्ये ३ ईभेन्ट्स जित्ने टिमले खेल जित्ने छ ।

कमेन्टहरु
Loading...