बालसुधार गृह र कारागारका कैदीबन्दीका लागि खेलकूद सामग्री सहयोग

डोटी । साइन नेपालले जिल्ला कारागार तथा बाल सुधार गृहका कैदीबन्दीका लागि खेलकूद सामग्री हस्तान्तरण गरेको छ ।

हस्तान्तरण गरिएको खेलकूद सामग्रीमा क्यारेम बोर्ड, भलिबल, भलिबल जाली (नेट) लगायत रहेका छन् । प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले कारागार तथा बालसुधार गृहलाई सो खेलकूद सामग्री हस्तान्तरण गर्नुभएको संस्थाका अध्यक्ष भक्तराज जोशीले बताए ।

सो अवसरमा प्रजिअ विष्टले साइन नेपालद्वारा हस्तान्तरण गरिएका खेलकूद सामग्रीले कारागार तथा बालसुधार गृहमा राखिएका कैदीबन्दीलाई सहयोग पुग्ने बताए । उनले भने “मनोरञ्जन तथा खेलकूद सामग्री नहुँदा कैदीबन्दीलाई दिन बिताउनसमेत समस्या थियो, साइन नेपालले खेलकूदका सामग्री प्रदान गरेपछि अब सहज हुने भएको छ ।” संस्थाले खेलकूद सामग्री प्रदान गरेपछि कैदीबन्दी निकै खुसी भएका छन् ।

यसैगरी उक्त संस्थाले जिल्लाको सायल गाउँपालिका र आदर्श गाउँपालिकामा गएको असोज अन्तिम साता वर्षासँगैको आएको बाढीपहिरा पीडितलाई पनि आज खाद्यान्नलगायत राहत सामग्री वितरण गर्ने जनाएको छ ।

उक्त संस्थाले जिल्लामा महामारी, विपद्, शिक्षा, स्वास्थ्य, छाउपडीलगायतका क्षेत्रमा सामाजिक कार्य गर्दै आएको छ ।

कमेन्टहरु
Loading...