बाटुलेचौर अब ‘सारंगी भिलेज’ : उम्मेदवार गिरी

पोखरा । पोखरा १६ लाई सारंगी भिलजेको अवधारणामा विकास गर्ने अवधारणासहित राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट कास्की क्षेत्र नम्बर २ २ मा उम्मेदवारी दिएका अरुण गिरीले त्यस क्षेत्रमा चुनावी घरदैलो गरेका छन् । सारंगीका लागि नेपालकै ठुलो खुला पाठशालाको रुपमा पोखराको १६ नम्बर वडास्थित बाटुलेचौरलाई विकास गर्न जरुरी रहेको गिरीले बताए ।

आफूले पोखरा १६ को विशेषतालाई ध्यानमा राखेर बाटुलेचौरलाई सारंगी भिलेज घोषणा गर्ने र त्यसका लागि आवश्यक पुर्वाधारहरुको विकासका लागि नीतिगत रुपमा पहल गर्ने सवालमा आफ्नो घोषणापत्रमा उल्लेख गरेको पनि गिरीले जानकारी दिए । ‘नेपालको मौलिक बाजा सारंगी र सारंगीसँग प्रत्यक्ष जोडिएको गायक समुदायको बाक्लो बस्ती रहेको बाटुलेचौर लगाएतको क्षेत्रलाई सारंगी भिलेजको रुपमा विकसित गरि यहाँको आर्थिक अवस्थाको सुधार गर्ने मेरो योजना छ ।’ गिरीले भने -‘मौलिक बाजागाजाको संरक्षण गर्दै त्यसको बजारीकरणका लागि पनि मैले आफ्नो अवधारणामा स्पष्ट रुपमा उल्लेख गरेको छु ।’ राप्रपा नेता गिरीले बाटुलेचौर स्वर्गीय गायक धर्मराज थापा, झलकमान गन्धर्भ लगाएत थुप्रै स्रष्टाहरुको जन्म भएको पुण्यभूमी भएकोले पनि कलाप्रेमीहरुको लागि खुला विश्वविद्यालयको रुपमा यसलाई विकास गर्न सकिने बताए ।

मौलिक कला र सँस्कृतिको विकास गर्दै नवयुवा पुस्तालाई पनि व्यवसायिक रुपमा त्यस क्षेत्रमा लगाउनका लागि आवश्यक पहल गर्ने सवालमा आफू सँधै अग्रसर रहने गिरीले बताए । ‘म आफैँ पनि कला क्षेत्रसँग जोडिएको व्यक्ति भएर पनि हुन सक्छ, यस क्षेत्रलाई हामीले कलाको हब बनाउन सकिन्छ भन्ने कुरामा ढुक्क छु ।’ उनले भने -‘पुर्खाहरुको ठुलो साहित्यिक विरासत बोकेको क्षेत्रलाई अझै बढि प्रचारप्रसार गरि स्थानीयको आर्थिक स्तरोन्नती गर्न सकिने ठुलो सम्भावना पनि छ ।’ राप्रपा नेता गिरीले राप्रपा पार्टी र आफ्नो व्यक्तिगत एजेन्डा पनि वैदिक धर्मसँगै सँस्कार र सँस्कृतिको जगेर्ना गर्नु भएकोले आफू त्यसप्रति बढि गम्भिर भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

पोखरा १६ मा पर्ने बाटुलेचौर,  लामाचौर र दीप लगाएतका क्षेत्रमा सोमबार गिरीले आफ्नो समूहसहित घरदैलो कार्यक्रम गरेका थिए । घरदैलोमा पुगेर आफ्नो धारणाहरु बताईरहँदा गिरीलाई स्थानीयले आफूहरुको बारेमा गम्भिर भएर सोँच्ने युवा नेताको रुपमा पाएको प्रतिक्रिया दिए । साथै उनीहरुले गिरीलाई आफूहरुले जिताउने वचन दिँदै भनेअनुसारको काम गरेर देखाउन आग्रह समेत गरेका थिए ।

राप्रपाका युवा नेता गिरीले आफूप्रति विश्वस्त हुन मतदाताहरुलाई आग्रह गरेका थिए । उनले आफू धर्म र सँस्कारको लागि राजनीतिमा होमिएकोले कुनैपनि पाप काम नगर्ने कसम समेत खाए । साथै उनले धर्म जोगाउने अभियानसहित चुनावमा होमिएको आफूलाई मतदान गरि सो अभियानमा सरिक हुन सबै मतदाताहरुलाई आग्रह समेत गरेका थिए । 

कमेन्टहरु
Loading...