फेदीखोला दलित एकता समाजको शुभकामना कार्यक्रम सम्पन्न

पोखरा । फेदीखोला दलित एकता समाज फेदीखोला स्याङ्जाको आयोजनामा दशै , तिहार , छठ तथा नेपाल संवतको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम, जेष्ठ नागरिक सम्मान कार्यक्रम तथा विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न भयो । विभिन्न राजनीतिक दल, स्थानीय समाजसेवी ,स्थानीय जनताहरुको उपस्थितिमा भएको उक्त कार्यक्रममा ‘समाज रुपान्तरणमा राजनीतिक दलको भुमिका के ?’ भन्ने सम्बन्धमा अन्तरक्रिया कार्यक्रम समेत भयो ।

कार्यक्रममा नेकपा एमालेकी नेता तथा दलित अधिकारकर्मी सीता सुन्दासले मन्तव्य दिएकी थिइन् । उनले आफू बच्चा हुँदा देखि नै जातीय बिभेदको सिकार भएको । हाम सम्म पनि कतै देखिने गरेर कतै नदिखिने गरेर जातीय विभेद रहेको बताइन् । छुवाछूत मुक्त समतामूलक समाज निर्माण गर्न कै लागि कम्युनिस्ट राजनीतिमा होमिएको समेत उनले बताइन् ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका नेता नारायणप्रसाद मरासिनीले हामीले गरेको आन्दोलनले समाज परिवर्तनमा कति सकारात्मक प्रभाव पार्यो । अबको बाटो के ? छुवाछूत मुक्त गर्न के कस्ता रुपान्तरणका कार्यक्रम राख्नु पर्छ भन्ने कुरामा हरेक राजनीतिक दलको नेतृत्व पंक्तिले सोच्नु पर्ने बताए ।

प्रगतिशील वामपन्थी नेता पुष्पराज बरालले छुवाछूत मुक्त समाज निर्माण गर्नको लागि फेदीखोला दलित एकता समाजले गरेका हरेक कार्यक्रमहरुले आफु अत्यन्तै खुसी भएको बताउदै अबका दिन समाज परिवर्तनको लागि यस समाजले गरेका हरेक कार्यक्रमहरुमा मेरो साथ सहयोग र समर्थन रहेको कुरा बताए ।

कार्यक्रममा प्रगतिशील संस्कृतिकर्मी तथा कवि सुरज उपाध्यायले छुवाछूत दलित समुदायले सामना गर्नुपरेको आर्थिक, सामाजिक र राजनीतिक विभेद एवं वञ्चितीकरणको समस्या नेपाली समाजमा रहेको कलंकको टीका भएको धारणा व्यक्त गरेका थिए । रूपा सुनारको अपमान या नवराज विकको हत्याको घटनाले प्रत्येक नेपालीको अपमान र अत्याचार भएको औंल्याउँदै उनले यस्ता कुरिती, अन्धविश्वास हटाउनको फेदीखोला दलित एकता समाज आगोको झिल्का बनेर अगाडि बड्न सकोस, यही समाजले अमेरिकाका मार्टिन लुथरकिङ, अफ्रिकाका नेल्सन मन्डेला, भारतका डा। भीमराव अम्बेडकर जस्तै नेपालका भगत सर्वजित विश्वकर्मा जस्ता महान ब्यक्तिहरु जन्माउन सकोस् भन्दै शुभकामना दिए ।

कार्यक्रममा बलबहादुर गोदार, होमनाथ शर्मा, लेखनाथ पराजुली , महेन्द्र थापा, रमेश बिक, नवीन परिवार, लालबहादुर बिक लगायतले आफ्नो मन्तव्य राखेका थिए । सीता सुन्दासको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको सभापतीत्व संस्थाका अध्यक्ष डिबी मिजारले गरेका थिए ।

कमेन्टहरु
Loading...