फरार अभियुक्त २६ वर्षपछि पक्राउ

काभ्रेपलाञ्चोक। काठमाडौँ जिल्ला अदालतले विसं २०५० जेठ १९ गते नकवजनी चोरी मुद्दामा कैद तथा जरिवाना गर्नुपर्ने फैसला सुनाएपछि फरार रहेका रोशी गाउँपालिका–७ का ५१ वर्षका नीरबहादुर लामालाई २६ वर्षपछि प्रहरीले पक्राउ गरेको छ।पक्राउ परेका लामालाई काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको धुलिखेलस्थित जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए। उनका अनुसार लामा २६ वर्षदेखि फरारको सूचीमा थिए। उनलाई रु दुई लाख १५ हजार ४७५ जरिवाना र एक महीना १५ दिन कैद सजाय तोकिएको थियो।

लामालगायत गाली बेइज्जती, बोक्सी आरोप, बहुविवाह, चेक अनादर, सवारी ज्यान, चोरी, जबर्जस्ती करणी, अपहेलना, कुटपिट र जालसाजी मुद्दामा कैद भुक्तान गर्न बाँकी रहेका १८ फरार अभियुक्तलाई यसै हप्ता पक्राउ गरिएको उनले बताए।पक्राउ परेका गाली बेइज्जती मुद्दाका पनौती नगरपालिका–३ का शेषनारायण तिमल्सिना, जयराम तिमल्सिना, जयदेव तिमल्सिना र जोगमाया तिमल्सिनालाई रु १४५ जरिवानाका साथै एक महीना १५ दिन कैद सजाय तोकिएको थियो।

कमेन्टहरु
Loading...