प्रेस युनियन कास्कीको पत्रकारिता तालिम समापन

नेपाल प्रेस युनियन कास्कीले आयोजना गरेको आधारभूत पत्रकारिता तालिम सकिएको छ । बिहीबारदेखि सुरु भएको तालिम शनिबार समापन भएको हो ।
कार्यक्रममा गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले पत्रकारिता निष्पक्ष हुनुपर्ने धारणा राखे । पत्रकारिताको नियम र परिधिमा रहेर आफूले सिकेका ज्ञान र सिप प्रयोग गर्न उनको सुझाव थियो । पत्रकारिताको धर्म समाजमा लुकेर रहेको प्रतिभा प्रस्फुटन गर्नु र समस्या उजागर गर्नु भएकोले यसमा ध्यान दिन नयाँ प्रशिक्षार्थीहरुलाई उनको सुझाव थियो । प्रदेशमा सञ्चार विधेयक आएपछि मिडियाका धेरै समस्या समाधान हुने भएकाले सरकार त्यसैमा तल्लिन रहेको उनले जानकारी दिए । उनले पत्रकारिता मिसनको लागि नभई लोकतन्त्रको रक्षाका लागि हुनुपर्ने उल्लेख गरे ।

नेपाली कांग्रेसका पूर्व जिल्ला सभापती कृष्ण केसीले तालिमपछि पनि प्रशिक्षार्थीहरुलाई पत्रकारिता पेशामा रहन आग्रह गरे । पत्रकार निडर र निपक्षी हुनुपर्ने उनको सुझाव थियो । कुनै पार्टी प्रति आशा छ भन्दैमा त्यो पार्टीले गरेको गल्ती नलुकाई समाचार लेख्न उनको आग्रह थियो । पत्रकारिता गर्दा कुनै समस्या परेमा नेपाली कांग्रेस सधै पत्रकारको पक्षमा रहेको उनको भनाई थियो ।
नेपाल पत्रकार महासंघ तथा नेपाल प्रेस यूनियनका पूर्व केन्द्रिय उपाध्यक्ष गंगाधर पराजुलीले समयअनुसार चल्न नसक्ने पत्रकार पछि पर्ने धारणा राखे । समय र प्रविधिमा जानकार लिन पछि पर्ने पत्रकार पत्रकारिता क्षेत्रमा सधैं पछि पर्ने उनको भनाई थियो । उनले गण्डकी प्रदेश सरकारले मिडियाका क्षेत्रमा भनेजस्तो काम गर्न नसकेको बताए । देश संघियतामा गईसक्दा पनि अझै सञ्चार मन्त्रालय अन्तर्गत हुने पत्रकार परिचय पत्र र सञ्चार माध्यम नविकरण जस्ता कार्य गर्न काठमाडौं नै धाउनुपर्ने बाध्यता रहेको उनले जनाए । यसका लागि गण्डकी प्रदेश सरकारले छिटो भन्दा छिटो काम गर्नुपर्ने उनको भनाई थियो ।

पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारीले पत्रकारितामा भित्रिएका नयाँ नयाँ विषयमा पत्रकार जानकार हुनुपर्ने धारणा राखिन् । उनले मिसन पत्रकारिताभन्दा व्यावसायिक पत्रकारितामा जोड दिनुपर्ने बताईन् । प्रशिक्षार्थीहरुलाई अब फिल्डमा काम गरेर देखाउने समय आएको भन्दै काम गर्नै शिलशिलामा आईपर्ने समस्या समाधान गर्न नेपाल पत्रकार महासंघ सधैं साथमा रहने उनको भनाई थियो ।

नेपाल प्रेस युनियनका अध्यक्ष नविन सिग्देलले नेपाल प्रेस युनियनले पत्रकार उत्पादन गर्ने लक्ष्यसहित सुरु गरेको तालिममा उत्साहपूर्ण सहभागिताका लागि प्रशिक्षार्थीहरुलाई धन्यवाद दिए । उनले प्रशिक्षार्थीहरुलाई तालिममा सिकेको विषय अब व्यावहारमा उतार्न आग्रह गरे । तालिममा सहभागी ५५ जना प्रशिक्षार्थीहरुलाई गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले प्रमाणपत्र वितरण गरेका थिए । समापन कै अवसरमा नेपाल प्रेस युनियन कास्की शाखाले ३० जना भन्दा बढिलाई नयाँ सदस्यता दिएको छ ।

समापन समारोहमा प्रमुख प्रशिक्षक सन्तोष पोखरेलले पत्रकारिताका महत्वका बारेमा आफ्नो धारणा राखेको थिए । आगामी दिनमा तालिममा सिकेका विषय काममा उतार्ने क्रममा आफ्नो सधैं साथ र सहयोग रहने उनको भनाई थियो । प्रशिक्षार्थीका तर्फबाट सिता परियार र रविरमण अधिकारीले तामिलमा नयाँ नयाँ जानकारी पाएकाले अबका दिनमा पत्रकारिता गर्न सहज हुने धारणा राखे ।

तालिमको प्रमुख प्रशिक्षकमा सन्तोष पोखरेल रहेका थिए भने रमेश पौडेल, गंगाधर पराजुली, रवीन्द्र बास्तोला, राज बहादुर गुरुङ, सरिता तिमिल्सिना पगेनी, नारायण शर्मा, विमला भण्डारी, बासु मिश्र, भानु पराजुली, बासुदेव पौडेल लगायतले प्रशिक्षण दिएका थिए ।
एजेन्सी

कमेन्टहरु
Loading...