प्याराग्लाइडिङ दुर्घटना अनुसन्धानः ‘गोप्रो’ नभेटिएर हैरान

दिपक के श्रेष्ठ 

गत सोमबार पोखरामा भएको टेन्डम प्याराग्लाइडिङ दुर्घटनामा प्यारापाइलट राजु गैरै नेपालीको मृत्यु र उडान सेवा लिएकी शिला श्रेष्ठ घाइते भएपछि प्यारा व्यवसाय आलोचित भएको छ ।

 

दुर्घटनामा पाइलटको मृत्यु भएपछि सामाजिक सञ्जाल र समाचारमा यसको दोष उनै नेपालीलाई लगाउन थालिएको छ । सामाजिक सञ्जालका प्रयोगकर्ताले प्यारापाइलटले अतिरिक्त शूल्क लिएर उडाउँदै फूल टिपाउने, तालको पानी छुवाउने, एक्रोब्याट गराउनेजस्ता क्रियाकलाप भएको उल्लेख गरेका छन् ।

 

‘सोमबार फिस्टेल प्याराग्लाइडिङका पाइलट नेपालीले ग्राहकलाई यस्तै क्रियाकलाप गराउन खोज्दा दुर्घटना भएको हो ?’ प्रश्न अनुत्तरित छ । तर दुर्घटनापछि यसको दोष उनै नेपालीको थाप्लोमा खन्याइएको छ । यसको वास्तविकता पत्ता लगाउन तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ ।

 

दुर्घटनाको कारण पत्ता लगाउन प्याराग्लाइडिङमा जडान गरिएको गोप्रो क्यामराले सहयोग गर्दछ । क्यामराले प्याराग्लाइडिङ टेकअफदेखि ल्याण्डिङसम्म निरन्तर तस्बिर र दृश्य खिचिरहेको हुन्छ । तर उक्त प्यारामा जडान गरिएको गोप्रो क्यामरा भेटिएको छैन । दुर्घटनास्थलमा क्यामरा जडान गरिएको स्टिकको भाँचिएको आँधा भागमात्रै भेटिएको छ । पाइलटतिरको भाग भेटिएपनि क्यामरातिरको आधा भाग नभेटिएकाले छानबिन प्रभावित हुन सक्ने आंकलन गरिएको छ ।

 

दुर्घटनालगत्तै पुगेको टोलीले उक्त स्थानमा क्यामरा भेटेन । ‘हाम्रो टोलीले पुरै ठाउँमा सकेसम्म खोज्यौ तर क्यामरा भेट्न सकेन’ फिस्टेल प्याराग्लाइडिङका एक पाइलटले भने । फिस्टेलपछि प्रहरीले पनि उक्त स्थानमा ‘सर्च’ गरिसकेको छ । त्यस्तै, छानबिन समितिको टोलीले पनि तदारुकताकासाथ क्यामरा खोजीमा जुटेको छ । तर क्यामरा पाउन सकेको छैन ।

 

‘हामीले दैनिकजसो त्यस ठाउँमा क्यामरा खोजिरहेका छौं तर भेटिएको छैन’ समितिका सदस्य दिपक थापाले भने । क्यामरा भेटे दुर्घटनाको कारण पहिल्याउन सहज हुने थापाले उल्लेख गरे । स्टिकसँगै भाँचिएर उछिटिएकाले भेट्न गाह्रो भएको र अरु कसैले भेटेको हुनसक्ने सम्भावना रहेकाले छानबिन टोली त्यता पनि केन्द्रित भएको छ ।

 

एक महिनाभित्र घटनाको अनुसन्धान गरी प्रतिवेदन बुझाउन गठित समितिको संयोजकमा अनुप जोशी रहेका छन् भने अर्का सदस्यमा देवराज सुवेदी छन् । समितिको प्रारम्भिक अध्ययनमा पाइलटले ‘फूल टिपाउने’ कार्य नगरेको देखिएको छ ।

कमेन्टहरु
Loading...