पोखरा फुटबल मैदानको ट्रयाकमा मार्किङ शुरु

पोखरा, १० मंसिर / पोखरा रंगशालाभित्र पुर्वाधार निर्माणका काम धमाधम भईरहेको छ । १३ औं दक्षिण एशियाली खेलकुदको लागि पुर्वाधार तयार बनाउन धम्मरधुस लागि परेका छन् । समय निकै कम छ । यद्यपी मैदान सहित प्यारापिटको काम टुग्याउने चटारोमा निर्माण कम्पनी छ ।

मैदानको पश्चिम तर्फ प्यारापिट तयार भईसकेको छ । सिट जडान समेत गरिएको छ । अब पूर्व तर्फ जडान गर्ने योजना छ । फुटबल मैदानको मार्किङ गर्ने तयारी गरिएको छ । मैदान भन्दा अघि ट्रयाक एण्ड फिल्डको मार्किङ गर्ने काम भईरहेको छ ।

‘ट्रयाक एण्ड फिल्डको मार्किङ गर्न बेलायती प्राविधिक आईसकेका छन्’– मैदान निर्माणकर्ता भारतीय ग्रेट स्पोर्टस इन्फ्रा तथा एम.ए कन्ट्रक्सन ललितपुर(संयुक्त)का स्थानीय प्रोजेक्ट म्यानेजर दिपक बरालले भने–‘ट्रयाकको मार्किङपछि फुटबल मैदानको मार्किङ गरिने छ ।’ फुटबल मैदानको मार्किङ गर्न अखिल नेपाल फुटबल संघ(एन्फा)का प्राविधिक टोली नै आउने उनको भनाई थियो ।

ट्रयाक एण्ड फिल्डको मार्किङ गर्न बेलायती प्राविधिक आईतबार राती मात्रै आईपुगेका हुन् । उनलाई सहयोगीको रुपमा भारतीय तथा नेपाली कामदारहरुले सहयोग गरिरहेका छन् । प्यारापिट जडान गर्न दुईसाता अघि नै दुई फ्रान्सेली प्राविधिक पोखरा आईपुगेका थिए । प्राविधिकलाई प्यारापिट र सिट जडान गर्न स्वयंसेवको रुपमा परिचालित नेपाल प्रहरीको टोली तथा मैदानमै कार्यरत मजदुरहरुले सहयोग गर्दै आएका छन् ।

चरण चरणमा आएको दुबोले मैदान पूर्णरुपमा तयार भने भईसकेको छैन् । अझै पाँच दिनको समय छ । पाँचदिनभित्रमा मैदानलाई फुटबल प्रतियोगिताको लागि तयार गर्ने दृढता विश्वाससहित कम्पनीले काम गरेको छ । ‘पुरानो दुबो सेट भईसकेको छ । नयाँ केही दुबो सेट हुने क्रममै छ’ उनले भने–‘फुटबल खेल्दा चपरी उप्किएको ठाँउमा नयाँ रिप्लेस गर्न सकिन्छ ।’ उनका अनुसार खेल्दा जहाँ उप्किन्छ त्यहाँ चपरी हालेर मैदानको मर्मत सम्भार गरिन्छ ।

पछिल्लो समय २५ हजार स्क्वायर दुबो आईपुगेको थियो । जसमध्ये आधाजसो दुबोलाई मैदानकै पुर्व तर्फ राखिएको छ । झण्डै ११ हजार स्क्वायर दुबो सञ्चित छ । सञ्चित दुबोलाई आवश्यकता अनुसार मैदानमा स्थापित गर्न सकिने गरी राखिएको कम्पनीले जनाएको छ ।

मैदानको निर्माणको काम धमाधम चलिरहँदा गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङ सहितको टोलीले सोमबार निरिक्षण गरेको छ । निरिक्षणको क्रममा उनले देश र प्रदेशकै प्रतिष्ठाको विषय भएकोले पनि त्यसको कामप्रति सबै सजग र सचेत हुनुपर्नेमा जोड दिए ।

फुटबल मैदानसहित ट्रयाक एण्ड फिल्डको वरिपरी ह्याम्मर थ्रो, डिसकस थ्रो, ज्यालिन थ्रो, पोलभोल्ट, सटफुट, हाईजम्प, लङजम्प तथा स्टेपल चेस लगायतका पुर्वाधार समेत तयार गरिदैं छ । फुटबल मैदानको पछाडिको डिएरियामा एथलेटिक्सका ती पुर्वाधार समेत बनाउने प्रोजेक्ट म्यानेजर बरालले सुनाए ।

एक अर्ब २८ करोडको लागतमा निर्माणाधिन फुटबल मैदानसहित प्यारापिट निर्माणपछि नेपालकै नमूना रंगशाला हुने दावी कम्पनीले गरेको छ । २०हजार दर्शक क्षमताको प्यारापिट र एथलेटिक्सका खेलहरु आयोजना गर्न सकिने छ । सागलाई लक्षित गरी निर्माण गरिएको पुर्वाधारले २०७७ फागुनमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि सहज हुने छ ।

कमेन्टहरु
Loading...