पृथ्वीनारायण क्याम्पसमा ‘महारानी’ भित्रिइन्

दिपक के श्रेष्ठ

पृथ्वीनारायण क्याम्पस पोखरको नेपाली विभागले बिहीबार मदन पुरस्कार विजेता उपन्यास ‘महारानी’ प्राप्त गरेको छ ।

क्याम्पसको नेपाली विभागले उपन्यासका लेखक चन्द्रप्रकाश बानियाँको स्वागतार्थ आयोजना गरेको कार्यक्रममा सहभागी लेखक बानियाँले उपन्यास अर्पण गरेका हुन् । पुस्तकालय स्थापना गर्ने उद्देश्य अनुरुप विभागले हाल नेपाली भाषाको साहित्य विधाको पुस्तक संकलन गरिरहेको छ । सोही उद्देश्यलाई सफल बनाउन उपन्यासकारले आफ्नो कृति विभागलाई हस्तान्तरण गरेका हुन् ।

विभागका प्राध्यापक सम्मिलित कार्यक्रममा बानियाँले महारानी आफ्नो पहिलो हस्ताक्षर नभएको खुलाए । ‘लेखनमा रुचि पहिल्यैदेखि थियो, कहिले मास्टरी त कहिले राजनीतिले मलाई लेखनबाट टाढा पु¥याएको थियो’ बानियाँले भने ‘शरिरमा बिमार भित्रिएपछिको फुर्सदले महारानी जन्मियो ।’ उनले यसअघि पनि ५ वटा पुस्तक प्रकाशन गरेको जानकारी दिए ।

‘म बौद्धिक व्यक्ति हैन, साहित्यकार त हुँदै हैन तर अनुभव र केही इतिहासको हुट्हुटीले महारानीको कथा दिमागमा बस्यो’ उनले प्रतिक्रिया दिए । लेखेर बाँच्न सक्ने अवस्था नभएको भन्दै उनले कृति छाप्न परेको समस्यालाई उधिनेका थिए । पुरस्कृति कृति महारानीपछि अझै ३–४ कथाको प्लट बुनिरहेको उनले उल्लेख गरे ।

सोही अवसरमा विभागको पुस्तकालयलाई लेखक तथा साहित्यकार रवीन्द्र मकाजु र गीतकार एवं साहित्यकार पद्मराज ढकालले पनि आफ्ना कृतिहरु प्रदान गरे । त्यस्तै, मकाजुले पुस्तकालय स्थापनार्थ १० हजार रुपैयाँ सहयोग गर्ने समेत जनाए ।

कार्यक्रममा विभागका प्रमुख प्राडा कुसुमाकर न्यौपानेले मदन पुरस्कार विजेताको उपस्थितिले क्याम्पसको गरिमा झनै बढेको भनाई राखे । आफ्नो कार्यकालमा विभागले कुनैपनि हालतमा पुस्तकालयको स्थापना गर्ने उनले वाचा गरे । ‘भाषा र साहित्यको ज्ञान लिन चाहने जो सुकैले पनि कतै भौतारिन नपर्ने खालको पुस्तकालय स्थापना गर्ने हाम्रो लक्ष्य हो’ प्रमुख न्यौपानले भने । यस अभियानमा सहयोग गर्न समेत न्यौपानले आम पोखरेलीसमक्ष आग्रह गरेका छन् ।

आख्यान विधाको उपन्यास महारानीले नेपालको ठूलो र सम्मानित मानिने मदन पुरस्कार जितेको छ । यस पुरस्कारको राशि ४ लाख रुपैयाँ रहेको छ ।

कमेन्टहरु
Loading...