पिएन क्याम्पस हातामा सर्वस्वीकार्य पार्क बनाउन मन्त्री थापाको सुझाव

पोखरा । गण्डकी प्रदेशका वन, वातावरण तथा भू–संरक्षण मन्त्री दीपक थापाले पृथ्वीनारायण क्याम्पस भित्र निर्माण हुने पार्क सबैको अपनत्व हुनेगरी बनाउनुपर्ने सुझाव दिएका छन् । अखिल क्रान्तिकारी पृथ्वीनारायण क्याम्पस ईकाई कमिटिले आयोजना गरेको अवलोकन भ्रमण तथा अन्तरक्रिया कार्यक्रममा उनले विद्यार्थी संगठनको तर्फबाट निर्माण हुने संरचना क्याम्पसका सबै शिक्षक विद्यार्थी तथा कर्मचारीहरुले स्विकार गर्नसक्ने हुनुपर्ने बताए ।

‘कुनै एक खास संगठनले निर्माण गरेको भौतिक संरचनालाई त्यहि संगठनको ट्याग लगाईदिने परिपाटी छ ।’ उनले भने, ‘यसो भन्ने परिपाटी र यस्तो सोच्ने मानसिकता हट्ने गरी काम गर्न सुझाव दिन्छु ।’ उनले भने । मन्त्रालयको अनुदानमा पृथ्वीनारायण क्याम्पस परिसरमा आधुनिक पार्क बनाउने योजना निर्माण भईरहेको अखिल क्रान्तिकारी पृथ्वीनारायण क्याम्पस ईकाई कमिटिका अध्यक्ष काशी पौडेलले जानकारी दिए ।

यसका लागि परियोजना प्रतिवेदन तयार भईरहेको उनले बताए । सो क्रममा मन्त्री थापाले संरचना निर्माण गर्दा सरोकारवालाले देखिने गरी र अनुभुत हुने गरी निर्माण योजना ल्याउन आग्रह गरे । साना साना योजनामा कनिका छरेजस्तै बजेट लगेर विचैमा हराएजस्तो विगतमा देखिएको भन्दै उनले भौतिक संरचना बरु थोरै बनाउने तर स्पष्ट देखिने र परिणाम देखिने गरी बनाउनुपर्ने बताए ।

सो अवसरमा सहायक क्याम्पस प्रमुख यादवराज उपाध्यायले क्याम्पस परिसरमा व्यवस्थित पार्कको आवश्यकता रहेको बताउँदै पार्कलाई प्रबिधि मैत्री बनाउनुपर्नेमा जोड दिए । क्रान्तिकारी क्याम्पस ईकाईका सदस्य सुजन बाँस्तोलाका अनुसार पार्क निर्माण गर्न कम्तिमा ५० लाख रुपैंया लाग्ने अनुमान गरिएको छ । मन्त्रालयले विनियोजन गर्ने रकम अनुसार क्रमागत योजनाको अवधारणा अनुसार पार्क निर्माण गरिने छ ।

कमेन्टहरु
Loading...