परीक्षा उत्तीर्ण भएको महिना दिनमा चालक अनुमतिपत्र पाइने

काठमाडौं । नयाँ चालक अनुमतिपत्रका लागि फाराम भर्नेको संख्या ५ लाखभन्दा बढी हुँदा यातायात व्यवस्था विभागले अनुमतिपत्रको परीक्षा पास गरेका सेवाग्राहीलाई एक महिनाभित्रमा अनुमतिपत्र दिइसक्ने योजना बनाएको छ । ठूलो संख्यामा कार्ड छाप्ने उपकरण (मास प्रिन्टर) को प्रयोग गरेर एकैदिनमा धेरै संख्यामा अनुमतिपत्र छाप्न सकिने विभागले जनाएको छ । अहिले तत्काल कार्ड स्टक थोरै संख्यामा भएकाले छाप्न नसकिएको भए पनि नयाँ कार्ड आउनासाथ अनुमतिपत्र छपाइ गरिने छ ।

विभागले १४ लाख कार्ड खरीदका लागि प्रक्रिया अघि बढाएको निर्देशक रामचन्द्र पौडेलले बताएका छन् । उनका अनुसार यी कार्डको खरिद गर्न लागेको कम्पनीले अहिले थोरै संख्यामा कार्ड नमूना परीक्षणका लागिसमेत पठाइसकेको छ ।

त्यो ठीक छ भन्ने जानकारी दिएपछि केही समयमा नै कार्ड आउने उनले जानकारी दिएका छन् । उनले भने, ‘हामीसँग थोरै कार्ड मात्रै बाँकी भएकाले थोरै छापिएको हो, नयाँ कार्ड आउनासाथ धमाधम एकैदिनमा धेरै छपाइ हुनेछ ।’ विभागले गत वर्ष खरिद गरेको ‘मास प्रिन्टर’ को क्षमता १ घण्टामा ४ सय ५० अनुमतिपत्र छाप्न सक्ने रहेको छ । १ दिनमा १० घण्टा सञ्चालन गर्दा ४ हजार ५ सय छापिने निर्देशक पौडेलले बताए । उपकरणलाई २४ घण्टा चलाउँदा १० हजार बढी छापिने उनको भनाई छ । विभागले कोभिड–१९ नियन्त्रणका लागि सरकारले जारी गरेको बन्दाबन्दीको समयमा तीन ‘सिफ्ट’ मा उपकरण सञ्चालन गरेको थियो । उनले भने, ‘कति घण्टा चलाउने भन्ने चापमा निर्भर गर्छ ।’

कोभिड–१९ का कारण झण्डै १० महिनादेखि अवरुद्ध नयाँ अनुमतिपत्र सरकारले गत पुसमा पुनः खुलाएको हो । देशभरबाट अनलाइन माध्यमबाट ५ लाखभन्दा बढी सेवाग्राहीले आवेदन दिइसकेका छन् । तीमध्ये पास दर ३० प्रतिशत हाराहारीमा हुने भएकाले छपाइ गर्न सकिने विभागले जनाएको छ । नयाँ १४ लाख कार्ड एकैपटक आएपछि माग धान्न गाह्रो नहुने निर्देशक पौडेलले बताएका छन् ।

‘मास प्रिन्टर’ सँगै विभागमा साना क्षमताका उपकरण रहेका छन् । तत्कालका लागि तीनको प्रयोग नभए पनि प्रयोग गर्न सकिने अवस्थामा रहेको विभागले जनाएको छ । विगत २ वर्षदेखि प्रदेश सरकारअन्तर्गतका यातायात व्यवस्था कार्यालयले नयाँ अनुमतिपत्रका लागि परीक्षा सञ्चालन, नवीकरण र वितरण गरिरहेका छन् । विभागले ‘सर्भर’ को काम र अनुमतिपत्र छपाई गरिरहेको छ । रासस

कमेन्टहरु
Loading...