न्यूजिल्याण्डमा सत्ताधारी लेबर पार्टीलाई अत्याधिक बहुमत

न्यूजिल्याण्ड निर्वाचनको प्रारम्भिक नतिजाले सत्ताधारी लेबर पार्टीलाई पुनः नेतृत्वमा पठाउने सुनिश्चितता भएको स्थानीय सञ्चारमाध्यमले शनिबार जनाएका छन् ।

प्रधानमन्त्री जसिन्दा आर्डनले दोस्रो कार्यकाल पनि प्रधानमन्त्री बन्ने पक्कापक्की हुने देखिएको छ ।

खसेको मतको करिब ९८ प्रतिशत मत गणना सकिँदासम्ममा लेबर पार्टीले ४९ प्रतिशतसहित १२० सदस्य सङ्ख्यामा ६४ सिटमा विजय हाँसिल गरेको छ भने विपक्षी नेशनल पार्टीले २७ प्रतिशत मतसहित ३५ सिटमा विजय हाँसिल गरेको राष्ट्रिय निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचनमा आफ्नो दलको विजय भएपछि प्रतिक्रिया दिँदै आफ्ना शुभेच्छुकहरूलाई धन्यवाद दिनुभएको छ । उहाँले मतदाताको अपेक्षा र आफ्नो दलको घोषणापत्र अनुसार भोलि देखि नै नया कामको सुरुवात गर्ने बताउनुभयो ।

त्यसैगरी नेशनल पार्टीका नेता जुडिथ कोलिन्सले आफ्नो दलको पराजय स्वीकार गर्नुभएको छ । उहाँले आफ्नो दलले विपक्षी पार्टीको रूपमा सशक्त प्रतिपक्षिका रूपमा सरकारलाई राम्रो कामका लागि दवाव दिने बताउनुभयो । कोलिन्सले आफ्नो दलले पराजयबाट शिक्षा लिँदै थप सशक्त, अनुशासित र जनतासँग थप जोडिएर काम गर्ने बताउनुभयो ।

न्यूजिल्याण्डवासीले शनिबार सम्पन्न आम निर्वाचन तथा जनमतसङ्ग्रहका लागि मतदान गरेका हुन् । निर्वाचन अकल्याण्डमा देखिएको कोभिड–१९ सङ्क्रमणको कारण एक महिना ढिलो गरी सम्पन्न भएको छ ।

इच्छामरण र गाँजा खेतीबारे जनमतसङग्रहको प्रारम्भिक नतिजा अक्टोबर ३० र अन्तिम नतिजा नोभेम्बर ६ मा सार्वजनिक हुने आयोगले जनाएको छ ।

कमेन्टहरु
Loading...