न्युजिल्याण्ड सरकारद्धारा साना व्यवसायीलाई व्याज मिनाहाको घोषणा

काठमाडौं । न्युजिल्याण्डमा नवगठित सरकारले साना व्यवसायीहरूका लागि विषेश राहत कार्यक्रमको घोषणा गरेको छ ।

लेबर पार्टीको सरकारको पहिलो मन्त्रीपरिषद्को बैठकले साना व्यवसायीलाई बचाइ राख्न सोमबार बलियो राहत कार्यक्रम घोषणा गरेको हो ।

कोरोनाभाइरसका कारण मर्कामा परेका साना व्यवसायीलाई उठाउनका लागि बलियो सहयोगका कार्यक्रम बनाइएको सरकारी अधिकारीले जानकारी दिएका छन् ।

साना व्यवसायीहरू राज्यको अर्थतन्त्रको एउटा महत्वपूर्ण अंश भएकाले उनीहरुलाई सहयोग गरेर देशको अर्थतन्त्र पनि जोगिने भएकाले समेत उनीहरुका लागि राहतको कार्यक्रम ल्याइएको सरकारले जनाएको छ ।

सोमबार मन्त्रीपरिषद् बैठकपछिको सम्वोधनका क्रममा प्रधानमन्त्री जसिन्दा अर्डेर्नले यस बर्ष म्याद सकिन लागेका राहत तथा सहुलियतका कार्यक्रमहरु सन् २०२३ को डिसेम्बर ३१ सम्म जारी रहने जानकारी दिइन् ।

कोरोनाका कारण मर्कामा परेका साना व्यवसायीहरुलाई एक बर्षदेखि दुई बर्षसम्म व्याज मिनाहा सहुलियत दिइने उनले बताइन् ।

“कोरोनाभाइरसको महामारी न त डिसेम्बरसम्ममा सकिन्छ, न त हाम्रो राहत प्याकेज सकिन्छ,” उहाँले भन्नुभयो ।

फरक व्यवसायलाई फरक समय र अवस्थाको राहत प्याकेज चाहिने भएकाले त्यही अनुसारको व्यवस्था गरिएको पनि प्रधानमन्त्री अर्डेर्नले जानकारी दिइन् ।

कठिन समयमा व्यवसायीहरुलाई सरकारले पछाडिबाट धकेल्ने काम गर्नु नै महत्वपूर्ण हुने उनले बताइन् ।

“अर्थतन्त्रलाई पुनःउत्थान गर्नु सरकारको प्राथमिकता हो, त्यसका लागि साना व्यवसायीलाई बचाउनु पुन: उत्थानका लागि मुख्य उपाय हो,” उनले भनिन् ।

न्युजल्याण्डमा हालै भएको निर्वाचनपछि गठन भएको सरकारका मन्त्रीहरुले शुक्रबार सपथग्रहण गरेका हुन् । त्यसपछि सोमबार पहिलो बैठक बसेको हो ।

निर्वाचनअघि पनि सरकारको नेतृत्व गर्नुभएकी अर्डेर्नले कोरोनाभाइरसको महामारी व्यवस्थापनका लागि प्रभावकारी, परिपक्व र जिम्मेवार भूमिका खेलेको ठानेर अहिलेको निर्वाचनमा अझ धेरै जनमत पाउनुभएको छ ।

कमेन्टहरु
Loading...