नौलो घुम्ती नेपालको ६० घण्टे आधारभूत कम्प्युटर तालिम

पोखरा । नौलो घुम्ती नेपालकोे आयोजना र गुड नेवर्स इन्टरनेशनलको आर्थिक तथा प्राविधिक सहयोगमा आयोजित ६० घण्टे आधारभूत तालिम शनिवार सम्पन्न भएको छ ।

समापन समारोहमा बोल्दै कार्यक्रमका संयोजक मनकुमार राईले कम्प्युटरको आधारभूत ज्ञान वर्तमानको अनिवार्य आवश्यकता भएकाले संस्थाले परियोजना सञ्चालन गरेको बताए ।

नौलो घुम्ती नेपालका अध्यक्ष बद्री विनोद प्रतीकले सिकाइमा कहिल्यै पनि पूर्णता नहुने भएकाले तालिमका सिकेका कुरालाई व्यवहारमा अधिकतम लागू गर्न विद्यार्थीलाई सुझाए ।

परियोजनाका बारेमा बताउँदै कार्यक्रम संयोजक महेश विश्वकर्माले नौलो घुम्ती नेपालले ६–७ वर्ष अघिदेखि अध्ययनका लागि विभिन्न शैक्षिक सामग्री सहयोग पाउँदै आधारभूत कम्प्युटर तालिमसम्म आइपुगेको र भविष्यमा पनि यस्तै कार्यक्रम ल्याउने जानकारी दिए ।

तालिमका सहजकर्ता गण्डकी हाइटेकका प्रशिक्षक असफल गौतमले विद्यार्थी भाइबहिनीका लागि सिक्नका लागि सधैँ ढोका खुला रहेको बताए ।

सहभागीका तर्फबाट अपिल अधिकारी र समीक्षा विकले आफूहरूले तालिमबाट धेरै सीप आर्जन गरेको र आगामी दिनमा पनि यस्ता तालिमको निरन्तरताको समेत अपेक्षा गरेका थिए ।

कमेन्टहरु
Loading...