ट्याक्सी दुर्घटनामा चालकको निधन

बाग्लुङ । ढोरपाटन नगरपालिका–२ मा गए राति ट्याक्सी दुर्घटना हुँदा बडिगाड गाउँपालिका–६ का २८ वर्षीय चालक नकुल केसीको ज्यान गएको छ । बडिगाडबाट बुर्तिबाङ बजारतर्फ जाँदै गरेको ध १ ज ५४२ नंको ट्याक्सी बडिगाड खोलामा खसेर दुर्घटनामा परेको थियो ।

दुर्घटनापछि खोलामा बेपत्ता चालकको शव आज बिहान बडिगाड गाउँपालिका–६ मा फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद रेग्मीले जानकारी दिएका छन् ।

राति १० बजेतिर दुर्घटनामा परेको ट्याक्सी मध्यपहाडी लोकमार्गबाट २ सय मिटर तल खसेको थियो ।

ट्याक्सीमा यात्रु भने सवार नरहेको बुझिएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी नायब निरीक्षक मंगल गुरुङले बताएका छन् । हिजै राति सोही स्थानमा लु २ च ९११९ नंको पिकअज जीप पनि दुर्घटनामा परेको थियो । जीपका चालक बडिगाड गाउँपालिका–९ का २२ वर्षीय किरण केसी भने सकुशल रहेको प्रहरीले जनाएको छ ।

जीपमा पनि यात्रु नरहेको प्रहरीको भनाइ छ । रासस

कमेन्टहरु
Loading...