जनप्रिय क्याम्पसबाट सुरु भयो सरसफाईको संस्कार

पोखरा, २० मंसिर/ जनप्रिय बहुमुखी क्याम्पसले २८ औं वार्षिकोत्सवको सन्दर्भमा बृहत् सरसफाई कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ । क्याम्पस प्रमुख बिरञ्जी गौतमले माक्स, पञ्जा, कुचो र डस्वीन बितरण गरेर सरसफाई कार्यक्रमको शुभारम्भ गरेका थिए ।

गौतमले भने ‘शैक्षिक वातावरण स्वस्थ बनाउन सरसफाईको संस्कार अपरिहार्य छ । शान्त वातावरणमा ज्ञान लिन र दिन आफैबाट सुरु गर्नुपर्छ । ’ विश्वविद्यालय अनुदान आयोगको छनौटमा परेको जेएमसीले दुई पटक गुणमापन तथा प्रत्यानको प्रमाणपत्र पाएर गुणस्तर सुनिश्चितताको कसीमा अब्बल ठानिएको छ । सहायक क्याम्पस प्रमुख राजेन्द्र पौडेलले ‘शिक्षासँगै सरसफाईको चेतना दिनु शैक्षिक गुणस्तर कायम राख्नु हो’ भने ।

पब्लिक क्याम्पस प्राध्यापक संघ जनप्रिय एकाइका सभापति नारायणप्रसद पौडेलले फोहर गर्ने भन्दा सरसफाई गर्ने सभ्य नागरिक हुन भन्ने धारणा राख्दै सहभागी सबैलाई धन्यवाद ज्ञापन गरेका थिए । प्रात र दिवा सत्रमा ५ हजार विद्यार्थी अध्ययन गर्ने जनप्रिय क्याम्पसले देशभरिका १ हजार ९६ सामुदायिक क्याम्पस मध्ये २०७२ र २०७३ मा शिक्षामन्त्रालयबाट उत्कृष्ट क्याम्पसको पुरस्कार पाइसकेको छ ।

क्याम्पस परिसरमा फोहर मैला व्यवस्थापनका लागि संकलन केन्द्र नै राखिएको छ । महानगरपालिकालाई सरसफाई करसँगै संकलित फोहरमैला बुझाउँने गरेको जानकारी प्रशासक महादेव पालिखे दिए । मंसिर २५ गते हुने वार्षिकोत्सवको सन्दर्भमा क्याम्पसले विद्यार्थीहरूलाई लक्षित गरेर विभिन्न खेलकुद, कविता, निबन्ध, वक्तृत्वकला, हाजिरी जवाफ र सामूहिक नृत्य प्रतियोगिता सञ्चालन गर्ने भएको छ ।

बृहत् सरसफाई कार्यक्रम क्याम्पस परिसरहुँदै रत्नचोक र एयरपोर्टचोकसम्म गरिएको थियो । सरसफाईमा क्याम्पस सञ्चालक समिति, सम्मानार्थ संरक्षक, सिनेटर, प्राध्यापक, कर्मचारी, विद्यार्थी र अभिभावहरूको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा स्वतन्त्र विद्यार्थी युनियन, विभिन्न संगठनका विद्यार्थी प्रतिनिधिहरूको सक्रिय सहभागित थियो । आफ्नै घरआँगन र सडकमा सरसफाईका लागि क्याम्पसले पहल गर्दा स्थानीय बासिन्दाले खुशी हुँदै साथ दिएका थिए ।

कमेन्टहरु
Loading...