चितुवा आतंकले तनहुँको बन्दीपुर गाउँपालिका ६ डाँडाछापका स्थानीय त्रसित

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका–६ डाँडाछापमा चितुवाको आतंकले स्थानीयवासी त्रसित भएका छन् । चितुवाले घरछेउमै आएर गोठमा बाँधिराखेको खसीबोकालाई आक्रमण गर्न थालेपछि स्थानीयवासी त्रसित भएका हुन् ।

शनिबार राति स्थानीयवासी गणेशबहादुर गुरुङको खोरमा चितुवाले पाँच वटा खसीबोकालाई आक्रमण गरेको छ । स्थानीयवासी सुरेन्द्र गुरुङका अनुसार चितुवाको आक्रमणबाट ५ वटा खसीबोका मरेको छ । ‘घरमै आएर चितुवाले आक्रमण गर्न थालेपछि स्थानीयवासी त्रसित भएका छन् ।’ उनले भने ।

वडाध्यक्ष सन्तबहादुर गुरुङले बन्दीपुरमा चितुवाको आतंक रहेकाले स्थानीयवासी त्रसित रहेको जानकारी दिएका न् । ‘शनिबार रातिको घटना विवरण चाँहि मसँग आइपुगेको छैन ।’ उनले भने, ‘चितुवाको आतंक भने छ ।’

उनका अनुसार केही समय अगाडि भने स्थानीयवासीले पालेका खसीबोकालाई चितुवाले आक्रमण गरी मारेको थियो ।

जिल्लाका विभिन्न ठाउँमा चितुवाको आतंक छ । भानु नगरपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिका, शुक्लागण्डकी नगरपालिकामा चितुवाको आक्रमणबाट बालबालिकाले समेत ज्यान गुमाएका छन् । रासस

कमेन्टहरु
Loading...