चलचित्र पत्रकार संघ कास्कीको भित्तेपात्रो सार्वजनिक

पोखरा । चलचित्र पत्रकार संघ कास्कीले नयाँ वर्ष २०७८ सालको भित्तेपात्रो सार्वजनिक गरेको छ ।

मंगलबार पोखरामा सामाजिक सुरक्षाका मापदण्डलाई अवलम्बन गर्दै नेपाल पत्रकार महासंघ कास्कीका नवनिर्वाचित अध्यक्ष बिमला भण्डारी, चलचित्र पत्रकार संघ कास्कीका संस्थापक अध्यक्ष तथा पत्रकार महासंघ कास्कीका सह-सचिव श्रीराम सिग्देल, चपस कास्कीका निर्वतमान अध्यक्ष तथा महासंघ कास्कीका समावेशी सह-सचिव रेम वि.क, चपस कास्कीका सल्लाहकार राजाराम पौडेल र चपस कास्कीका अध्यक्ष अरुण गिरीले भित्तेपात्रो सार्वजनिक गरे ।

सो अवसरमा पत्रकार महासंघ कास्कीका अध्यक्ष सहित चपस कास्कीबाटै प्रतिनिधित्व गर्दै निर्वाचित भएका सदस्यहरुलाई बधाई दिइयो ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष भण्डारीले चपस कास्कीको पछिल्लो टिमले उदाहरणीय काम गरेको बताइन् ।

जोखिमका बेला आइपर्ने चुनौतीको सामना गर्दै अवसर खोज्नुपर्ने उनको भनाई थियो । भण्डारीले चलचित्र बिटलाई मुलधारमा ल्याउन महासंघबाट पहल हुने प्रतिबद्धता जनाइन् ।

उनले कोरोना कालिन समयमा सुरक्षित हुँदै समाचार संकलनमा खटिन पत्रकारलाई आग्रह गरेकी छिन् । चलचित्र पत्रकार संघ कास्कीका समस्यामा महासंघ सधै साथमा रहेको उल्लेख गर्दै योजना बनाएर सँगै कार्यक्रम तय गर्ने पनि उनले बताइन् । भण्डारीले पत्रकारलाई कार्डको दुरुपयोग नगर्न आग्रह गरेकी छिन् ।

कामका बेला मात्र कार्डको प्रयोग गरी महासंघ कास्कीको गरिमालाई जोगाउन उनको अनुरोध छ ।

चलचित्र पत्रकार संघ कास्कीका संस्थापक अध्यक्ष श्रीराम सिग्देलले संस्था २०६० सालमा जन्मिएको जानकारी गराए । उनले पछिल्लो कार्यसमितिबाट भइरहेका गतिविधि देखेर आफु खुशी भएको अभिव्यक्ति दिए ।

महासंघको अहिलेको कार्यसमितिमा चलचित्र पत्रकार संघ कास्कीका साथीहरुको सहभागीता राम्रो भएको बताउँदै आगामी दिनमा महासंघकै समन्वयमा संघले कार्यक्रम गर्ने गरी वातावरण निर्माण गर्नेमा आफु प्रतिबद्ध रहेको उनले बताए ।

संघका अध्यक्ष गिरीले भित्तेपात्रो विमोचन संघको कोषवृद्धिका लागि गरिएको जानकारी गराए ।

एशोसियट संस्था चपस कास्की भएता पनि महासंघसँग समन्वय गरेर आफुहरुले कार्यक्रम गर्ने योजना बनाएको उनले बताए ।

गिरी महासंघबाट सहयोग पाउनेमा विश्वस्त छन् । चपस कास्कीका कार्यसमिति सदस्यहरुको उपस्थितिमा आयोजना गरिएको कार्यक्रमलाई सचिव प्रभु अधिकारीले संचालन गरेका थिए ।

कमेन्टहरु
Loading...