गुरुङ चलचित्रका महानायक ताराबहादुर गुरुङलाई सम्मान

पोखर। गुरुङ चलचित्रका महानायकका रूपमा परिचित ताराबहादुर गुरुङलाई पोखरामा सम्मान गरिएको छ । लोक नृत्य कलाकार सङ्घ, कास्कीद्वारा बिहिबार आयोजित कार्यक्रममा लोकसंस्कृतिविद् कुसुमाकर न्यौपाने, समाजसेवी विश्वमोहन गौचन, अध्यक्ष केशबहादुर गुरुङलगायतले गुरुङलाई सम्मानपत्र, फेता र खादासहित सम्मान गरेका हुन् ।

सोंपाल तमु समाजको निमन्त्रणामा बेलायत पुगेर नेपाली संस्कृतिको पहिचान अन्तर्राष्ट्रिय क्षेत्रमा समेत फैलाउन भूमिका खेलेको भन्दै उनलाई सम्मान गरिएको सङ्घका सचिव राहुल थापा मगरले जानकारी दिए । नेपाली कला, संस्कृतिका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै गुरुङलाई सोंपाल तमु समाजसहित विभिन्न संस्थाले बेलायतमा समेत सम्मान गरेका थिए । सो सम्मानका लागि समेत उनलाई संस्थाले बधाई ज्ञापन गरेको थियो । स्याङ्जाको दरौँ सिरुबारीमा जन्मेर पोखरालाई कर्मथलो बनाएका गुरुङले ‘एउटा घरको व्यथा हैन’ भन्ने गुरुङ चलचित्रबाट अभिनय यात्रा सुरु गरेका थिए । अग्निदहन, किडन्यापलगायतका नेपाली चलचित्रमा समेत काम गरेका उनले दर्जनौँ गुरुङ चलचित्रमा अभिनय गरेका छन् । दरौँ सिरुबारी माझकटेरी।।। लगायतका म्युजिक भिडियोमा समेत उनको अभिनय हेर्न सकिन्छ ।

सम्मान समारोहमा ताराबहादुर गुरुङको योगदानको चर्चा गर्दै प्रा। डा। कुसुमाकर न्यौपानेले ताराबहादुर सिङ्गो नेपालको तारा मात्र नभएर गौरव गर्नलायक गहना पनि भएको धारणा राखे । ताराबहादुरको सङ्घर्षको कथा स्मरण गर्दै उनले कुनै समय बाँसुरी र मादल वादकका रूपमा आफूले चिनेको तारा आज अन्तर्राष्ट्रिय स्तरमा नेपाली कला, संस्कृतिको प्रतिनिधित्व गर्न सक्ने कलाकार बनेकोमा आफूलाई गौरव लागेको भनाइ राखे ।

सम्मानित नायक गुरुङले आफू जहाँ गए पनि नेपाली लोक कला र संस्कृतिबाट टाढा रहन नसक्ने भनाइ राखे । जति सकिन्छ त्यति नेपाली संस्कृतिलाई योगदान गर्न सदैव आफू लागिपरेको बताउँदै उनले बेलायत गए पनि आफ्नो मनमा सधैँ नेपाल र नेपाली संस्कृति नै रहेकाले आग्रह हुँदा हुँदै पनि यात्रा छोट्याएर नेपाल फर्केको अनुभव सुनाए । उनी गत साउन २६ गते बेलायत गएर करिब १ महिनापछि हालै नेपाल फर्केका थिए । कार्यक्रममा उनले आयोजक संस्थालाई ५० हजार ६०५ रुपियाँ नगद सहयोग गरेका थिए ।

तारासँगै बेलायत यात्रामा सहभागी डा। चन्द्रबहादुर गुरुङलाई समेत सो अवसरमा सम्मान गरिएको थियो । कार्यक्रममा समाजसेवी विश्वमोहन गौचन, डा। चन्द्रबहादुर गुरुङलगायतले शुभकामना दिएका थिए । लोक नृत्य कलाकार सङ्घका अध्यक्ष केशबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रम सचिव राहुल थापा मगरेल सञ्चालन गरेका थिए ।

कमेन्टहरु
Loading...