कुकुर तिहार र लक्ष्मी पूजा एकैदिन

पोखरा । यस वर्ष तिथि घटबढका कारण आज कुकुर तिहार र लक्ष्मी पूजा एकैदिन परेको छ । मुख्यतया यमपञ्चकको दोस्रो दिन कुकुर तिहार र तेस्रो दिन लक्ष्मी पूजा पर्छ । तर कुकुर तिहार र लक्ष्मी पूजा एकै दिन परेको हो । नेपाल पञ्चांग निर्णायक समितिका अनुसार यस वर्ष तिथि घटबढका कारण यस्तो भएको जनाएका छन् ।

आज बिहानै नदी,तलाउ वा धारामा गई स्न्नान गरेर सालको पातमा यमदीप दक्षिण दिशामा फर्काई बालेर बगाउने चलन छ । यसरी बगाएमा नरक जान नपर्ने शास्त्रीय मान्यता छ ।

त्यस्तै आजकै दिन घरको पहरेदारको रुपमा खटिएको कुकुरलाई पूजा गर्ने अर्को चलन छ । इमान्दारीपूर्वक खटिने कुकुरलाई आज पूजा गरेर मिठा खानेकुरा खान दिएमा यमलोकको यात्रा गर्दा बाटोमा अवरोध नहुने धार्मिक विश्वास समेत छ ।

 

आजै साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइन्छ । सन्ध्याकालमा लक्ष्मीपूजा गरी मध्यरातमा घरका नारीले नाङ्लो ठटाएर ‘अलक्ष्मी भागोस्, लक्ष्मी र धनधान्यको आगमन होस्,’ भनी कामना गर्ने शास्त्रीय विधि रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । बिहानै घर सफासुग्घर र गाईको गोबर एवं रातोमाटोले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका छ ।

 

विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सँघार, कौसी, अटाली, भ¥याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ । सुखरात्रिको पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाई उनी आउने बाटो देखाइन्छ ।

 

पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्वलन गरी झिलीमिली बनाइन्छ । हाल पालामा दियोका स्थानमा मैनबत्ती बाल्ने प्रचलन बढ्न थालेको छ ।

 

दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजाआरधना गरिन्छ ।

 

लक्ष्मीपूजापछि कन्या र छोरीचेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणासमेत दिने प्रचलन छ । आज घरमा लक्ष्मीपूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ । लक्ष्मीपूजाका अवसरमा कुल परम्परानुसार आजै बिहान गाईको पूजा गर्ने प्रचलनसमेत छ । शास्त्रीय रुपमा भने औंसीपछि कार्तिक शुक्ल प्रतिपदा लागेपछि मात्र गाईपूजा गर्नुपर्ने उल्लेख गरिएको छ ।

कमेन्टहरु
Loading...