कालोबजारी हुँदा किसानले मल पाएनन्

रिना थापा । वर्षैपिच्छे धान खेतीको बेला मल अभावले पिरोलिनु नेपालको किसानका लागि नौलो होइन । अन्य वर्षको तुलनामा यो वर्ष भने किसानले मलको सास्ती अलि बढी नै खेप्नुप¥यो । धानले गाँज हाल्ने समय भइसक्दा समेत कृषकले मल पाएनन् लकडाउनको कारण तीन महिनादेखि भारतको कलकत्तामा अड्किएर रहेको २५ सय टन रासायनिक युरिया मल गत मल मंगलबार राति वीरगञ्जको सुख्खा बन्दरगाहमा आइपुगेको थियो ।

युरिया मलको अभावमा किसान छट्पटिइरहेको बेला साल्ट ट्रेडिङ कर्पोरेसनको मल वीरगञ्ज आइपुगेको खबरले किसानलाई थोरै राहत महसुस भयो । मल पोखरामा पनि यही भदौ १४ गते आइपुग्यो । तर साल्ट ट्रेडिङमा मल आएपनि पोखराका किसान र कृषि सहकारीले भने मल पाउन सकेनन् ।

पोखरा २३ पामेका रामप्रसाद देवकोटा धानले गाँज हाल्दासम्म मल नपाएर भौतारिरहेका छन् । ‘एक पटक ५ किलो मल हालें । त्यसपछि छैन । धान सप्रिने बेला भइसक्यो, तर अझै मल खोज्दै छु ।’ उनले भने । देवकोटाले ३२ रोपनी जग्गामा अघिल्लो वर्ष ६० देखि ७० मुरी धान उब्जाएका थिए । यस वर्ष भने मल हाल्न नपाएर धान पहेंलिदै गएको छ ।

त्यसैले यस वर्षको धान उब्जनी गतिलो हुँदैन भन्ने प्रष्ट छ । भदौ १४ गते साल्ट ट्रेडिङमा १ सय ८९ टन मल आएको ट्रेडिङ कर्पोरेसन पोखरा शाखा प्रमुख सुरेश राज भण्डारीले बताए । उनका अनुसार कर्पोरेसनको आफ्नै ५० देखि ५५ डिलरलाई मल प्रदान गरिएको थियो । ‘हामीले हाम्रो डिलरलाई मल आएको बेला २÷२ गाडीको दरले वितरण गरेका थियौं । यस लटको मल २ दिनमै सकियो, फेरि अर्को हप्ता आउँदै छ ।’ उनले भने ।

भण्डारीका अनुसार कास्की, तनुँह, स्याङ्जा र लमजुङका डिलरलाई अनुदानको मल वितरण गरिएको थियो । जुन मल कृषि सहकारीबाट किसानसम्म पुग्छ । जहाँबाट आफ्नो स्थानमा सहज पर्ने कृषि सहकारीबाट किसानले सहजै अनुदानको मल खरिद गर्न सक्छन् । तर यस पटक मल आएको कतिपय कृषि सहकारीले थाहै पाएनन् ।

मल अभाव भइरहँदा कर्पोरेसनले भने किसानलाई सिधै मल वितरण गर्नुको सट्टा आफ्ना पुराना डिलरलाई मल प्रदान गरेको छ । पाण्डव कृषि सहकारी घारीपाटनका प्रबन्धक निर्देशक नवराज काफलेलाई मल आएको विषयमा केही जानकारी नभएको बताउँछन् । ‘त्यहाँबाट त मल नै आएको छैन । कृषिको काम हामी आफैं गर्छौं । तर मल आएको जानकारी नै भएन ।’ उनले भने ।

यस वर्ष सुरुआती चरणमा कृषि क्षेत्रमा लकडाउनले बेग्लै रौनक ल्याएको थियो । मनसुन पनि छिटो सुरु भयो । अन्य क्षेत्रमा जस्तोसुकै भएपनि कृषहरुमा भने उत्साह थपिएको थियो । मल नपाएपछि उनीहरुको आशा अहिले भने मरेको छ । पोखरा १७ का कृष्णा थापाले मल नपाएर उत्पादन घट्छ भन्ने मनसाय बनाएर बस्न थालिसकेका छन् । उनले धान लगाउँदा पनि मल राख्न पाएनन् । ‘मल नपाएका हैनन् ४÷५ केजी आफ्नो घरका लागि बाली लगाउनेले पाइराखेका छन् । तर हामी कृषकको बालीलाई त्यती मात्र मलले पुग्दैन ।’ उनले गुनासो गर्दै भने, ‘कतै त आफ्ना चिनेका मान्छे भएकाले मल पाएर बालीमा हालिराखेका छन् ।’

अन्य समयमा पोखरा महानगरभरी ११ हजार २ सय हेक्टर जमिनमा धान खेती गरिन्छ । तर यस वर्ष लकडाउनका कारण घरमै रहेर पोखराको बाँझो जमिनमा खेती लगाएकाले १० प्रतिशत बढी जमिनमा धान रोपिएको थियो । जस हिसाबले पोखरामा अघिल्लो वर्षभन्दा बढी मल आवश्यक छ भनेर सहजै अनुमान लगाउन सकिन्छ ।

अहिले भने मल अभावकै कारण १० प्रतिशत जमिनमा धान बढी रोपियो भने उत्पादन बढ्छ भनि उत्साह मनाएका प्राविधिक निरुत्साही देखिन्छन् । पोखरा महानगरका कृषि महाशाखा प्रमुख मनोहर कडोरियाले किसानले मल हाल्ने समयमा मल राख्न नपाएर ११ प्रतिशत धान उब्जनीमा प्रभाव पार्ने बताउँछन् ।

उसो त धानलाई मल हाल्ने समय गइसक्यो । धानमा मल राख्ने उचित समय धान गोड्ने बेलामा हो । यतिबेला सबै किसानले धान गोडेर सकिसके । धान पनि गाँज हालेर बिना मल सप्रिन लागिसक्यो । कृषि कार्यालय गण्डकी प्रदेशका प्रमुख मुरली मोहन रेग्मी भने अझै कार्तिक यता प्रादेशिक कार्यालयमा मल नआउने बताउँछन् । रेग्मीले लकडाउनको कारण मल आउन नपाएको बताउँदै आइरहेका छन् । यता साल्ट ट्रेडिङमा भने यही हप्ता दोस्रो लटको मल आयात हुँदैछ ।

पोखरामा मलको बिक्री वितरण कृषि सामाग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङले गर्छ । यी २ संस्थाले मल ल्याएर सहकारीमार्फत् किसानलाई मल विक्री वितरण गरिरहेका छन् । मल हुँदाहुँदै किसानले मल नपाउनुको पछाडि बिचौलियाको खेल भएको कुरा बुझ्न गाह्रो छैन । मलमा पनि कालोबजारी हुँदा किसान मर्कामा परेका छन् । सरकारी निकाय नै मलमा कालोबजारी गर्न त लागेको छैन भन्ने प्रश्न आजको मुख्य प्रश्न बनेको छ ।

कमेन्टहरु
Loading...