कार दुर्घटना हुँदा घाइते युवतीलाई छाडेर फरार भएकाहरु प्रहरी नियन्त्रणमा, युवतीको निधन

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–३ कौशल्टारको ६ लेन सडकमा भएको दुर्घटनामा १ युवतीको ज्यान गएको छ भने अन्य ३ सामान्य घाइते भएका छन् । भक्तपुरबाट काठमाडौंतर्फ जाँदै गरेको बा ८ च ४७५६ नंको कार आज बिहान १२ः४५ बजे कौशलटारको बीच सडकको फलामे रेलिङ भाँच्दै सडक छेउमा रहेको सिमेन्टको खम्बामा ठोकिई पल्टिएको थियो । दुर्घटनामा कारमा सवार काठमाडौं महानगरपालिका–४ बूम्रबराही पीपलबोट बस्ने ३० वर्षीया रिया श्रेष्ठको ज्यान गएको छ ।

४ जना सवार उक्त कार अनियन्त्रित भई दुर्घटना भएको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिएका छन् । उनले घटनाबारे जानकारी पाएलगत्तै घटनास्थल पुगेर घाइते श्रेष्ठलाई उपचारका लागि मध्यपुर अस्पताल पु¥याइएको बताएका छन् । घाइते श्रेष्ठको अस्पताल पु¥याउँदा चिकित्सकले निधन भइसकेको जनाएका थिए ।

घटनापछि फरार रहेका कारका चालक मध्यपुरथिमि–१ लोकन्थली बस्ने २६ वर्षीय रञ्जित कार्कीलाई प्रहरीले बिहान नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाएको उनले जानकारी दिएका छन् । सोही कारमा सवार मध्यपुरथिमि–५ राधेराधे बस्ने २६ वर्षीय विजय देउजा र सूर्यविनायक नगरपालिका–४ दधीकोट गाम्चा बस्ने २७ वर्षीय सुदीप थापालाई घटनाबारे प्रहरीले सोधपुछ गरिरहेको छ ।

दुर्घटनापछि कारमा सवार ती ३ जना नै घाइते युवतीको अवस्था हेरेर निधन भएको भन्दै छाडेर फरार भएका थिए । प्रहरीले खोजी गर्ने क्रममा बिहानै नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाइएको जनाइएको छ । दुर्घटनामा कार भने पूर्ण क्षति भएको छ । रासस

कमेन्टहरु
Loading...