कांग्रेस लमजुङको सभापतिमा टकराज गुरुङ

पोखरा । नेपाली कांग्रेस लमजुङको सभापतिमा डा. टकराज गुरुङ निर्बाचित भएका छन् । प्रतिद्धन्द्धि गमप्रसाद गुरुङलाई १ सय ३२ मतले पछि पार्दै टकराज ४ बर्षका लागि कांग्रेसको सभापति बनेका हुन् ।

नेपाली कांग्रेस चौधौं महाधिवेशन अन्तर्गत लमजुङमा मतपरिणाम अनुसार विजयी टकराजले ७ सय १७ मत ल्याएका छन् । पराजित गमप्रसादले ५ सय ८५ मत ल्याएका हुन् ।

संस्थापनपक्ष अर्थात पार्टी सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार टकराज गुरुङ र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका गमप्रसाद गुरुङ प्यानलका साथ चुनावी मैदानमा होमिएका थिए ।

उपसभापतिमा गमप्रसादपक्षका आनन्द घिमिरेले ७ सय १ र टकराजपक्षका श्रीकान्त घिमिरेले ६ सय ७८ मत ल्याएर विजयी भएका छन् । पराजित गमप्रसादपक्षका खड्गबहादुर गुरुङले ६ सय २१ मत ल्याएका थिए भने टकराजपक्षका लोकनाथ घिमिरेले ५ सय २८ मत ल्याएका छन् । सचिवमा टकराज पक्षधर कृष्णबहादुर अधिकारीले ६ सय ६६ मत ल्याएर विजयी भएका छन् । गमप्रसाद पक्ष्ँधर विमल श्रेष्ठले ६ सय ४९ मत ल्याएर विजयी भएका छन् । पराजित गमप्रसाद पक्षधर नवीनचन्द्र घिमिरेले ५ सय ७९ र राजकुमार पाण्डेले ५ सय ९७ मत ल्याएका हुन् ।

सहसचिवमा गमप्रसाद पक्षधर नरबहादुर गुरुङले ७ सय ३९ मतका साथ विजयी भएका छन् । यस्तै, टकराजको प्यानलबाट विश्व पौडेलले ६ सय ८ मत र गमप्रसाद प्यानलबाट नरबहादुर गुरुङले ७ स्य ३९ मत ल्याएर सहसचिवमा विजयी भएका छन् । पराजित टकराजपक्षका मदनसिंह घिमिरेले ५ सय ५८ मत ल्याएका थिए । गमप्रसाद पक्ष्ँधर सूर्यकला बराल कोइरालाले ५ सय ९६ मत ल्याएका छन् । केन्द्रमा कोइराला परिवार पक्षधर शंकरकान्त जोशी–बृषराज गुरुङ समूहले टकराज समूहलाई समर्थन गरेको थियो । लमजुङमा तेस्रो धार मानिएको उक्त समूहले समर्थन गरेपछि टकराजलाई जित्न सहज भएको हो । कूल १ हजार ३ सय ३९ मत खसेकोमा १ हजार ३ सय २ मतमात्रै सदर भएको छ । ३७ मत बदर भएको निर्वाचन अधिकृत थानेश्वर दवाडीले जानकारी दिए ।

कमेन्टहरु
Loading...