कपडा व्यवसायी एशोसियसन कास्कीको रजत वर्ष: पाँच दिने योग शिविर सम्पन्न

पाेखरा । कपडा व्यवसायी एशोसियसन कास्कीको रजत वर्षको अवसरमा पाँच दिने योग शिविर सम्पन्न भएको छ । पतन्जली योग समिति कास्की अन्तरगतको गणेश योग केन्द्र पोखरामा सम्पन्न उक्त शिविरमा कपडा व्यवसायीहरु लगायतले सहभागीता जनाएका थिए ।

शिविरको समापन कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष शंकर प्रसाद बास्तोलाले योगको विकासका लागि आफुहरु सकारात्मक रहेको बताउदै आवश्यक सहयोग गर्ने प्रतिवद्धता जाहेर गरे । योग केन्द्रलाई प्रविधिसंग जोड्नु पर्नेमा जोड दिदै उनले केन्द्रमा इन्टरनेटको व्यवस्था गरिदिने बताए ।

जसका कारण केन्द्रमा स–शरिर उपस्थित भएर योग गर्न नसक्नेहरुका लागि घर मै बसेर योगका बारेमा आवश्यक प्रशिक्षण लिने तथा योगाभ्यास गराउन मद्धत पुग्ने विश्वास व्यक्त गरे । मानिसहरुमा विभिन्न कारणले व्यवस्तता बढ्दै जानु र समयको व्यवस्थापन पनि समस्या कै रुपमा देखिएका बेला प्रविधिमा आधारित योग प्रभावकारी हुने उनको विश्वास छ ।

यस्तै एशोसियसनका संस्थापक अध्यक्ष रामजी प्रसाद बास्तोलाले मानव जातिमने सुदुर भविष्यको गहिरो चिन्तन गर्दै विभिन्न ऋषीमुनीहरुले यसको विकास गरेकाले योगको अनुसरण आवश्यक रहेको बताए । एशोसियसनका पुर्व अध्यक्ष रामचन्द्र गौतमले शरिर स्थिर राख्न नहुने उल्लेख गर्दै नियमित योगाभ्यासमा जोड दिए । आफु वर्षौैदेखी योग गर्दै आएको बताउदै योगका कारण स्वस्थमा सामान्य बाहेक कुनै खराबी नआएको उनले बताए ।

एशोसियसनका निवर्तमान अध्यक्ष नविन नापितले योग मानव स्वास्थ्य र दिर्घ जिवनका लागि अपरिहार्य रहेको बताए । कपडा व्यवसायी एशोसियसन कास्कीका महासचिव धर्ममान सिंह भण्डारीले योग विश्व समुदायका लागि पुुर्विय दर्शनले दिएको एक सुन्दर अनुपम उपहार भएको बताए । गणेश योग केन्द्रकी योग प्रशिक्षक बन्दना पालिखेले भावका साथ गरिने योगले आनन्द प्राप्त हुने उल्लेख गरिन् ।

कपडा व्यवसायी एशोसियसन कास्कीको रजत वर्षका अवसरमा संस्थाका अध्यक्ष विष्णुप्रसाद तिमिल्सनाको नेतृत्वमा संस्थामा आवद्ध व्यवसायीहरुले पाँच दिनसम्म आयोजित योग शिविरमा सहभागिता जनाएका थिए । उनिहरुले शिविर प्रभावकारी भएको प्रतिक्रिया दिएका छन् ।

 

कमेन्टहरु
Loading...