कञ्चनपुरको महाकाली नगरपालिकामा उच्च ज्वरोबाट ३ को मृत्यु

कञ्चनपुर । कञ्चनपुरको महाकाली नगरपालिकामा उच्च ज्वरोको लक्षण देखिएका ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १३ वर्षीया पूजा बोगटी, ६५ वर्षीय गम्भीर भण्डारी र २१ वर्षीय प्रेमबहादुर चन्द रहेका छन् ।

बोगटीको दोधारा स्वास्थ्य केन्द्रमा उपचार हुन नसक्दा थप उपचारका लागि कैलालीको धनगढी पठाइएकोमा उपचारका क्रममा मृत्यु भएको महाकाली नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख जय बहादुर महराले बताएका छन् ।

‘भण्डारीमा मधुमेह, उच्च रक्तचाप र ज्वरोका कारण उपचारका क्रममै मृत्यु भएको हो ।’ उनले भने, ‘प्रेमलाई परिवारजनले स्वास्थ्य केन्द्रमा उपचारका लागि ल्याउने क्रममा मृत्यु भएको छ ।’

उच्च ज्वरो देखिएका ४ जनालाई कैलालीको धनगढी उपचारका लागि पठाइएकोमा केही निको भएर घर फिर्ता भएको र केही उपचारका क्रममा रहेको शाखा प्रमुख महराले जानकारी दिएका छन् । उनका अनुसार मृत्यु भएका र ज्वरोको समस्या देखिएका सबै जनाको रगतको नमूना जाँचका लागि पठाइए पनि रिपोर्ट आइसकेको छैन ।

उच्च ज्वरोको समस्या लिएर आउने व्यक्तिहरुमा लामखुट्टेको टोकाइबाट हुने जापनिज इन्सेफ्लाइटिससंग मिल्दोजुल्दो लक्षणहरु रहेकाले सो रोगको संक्रमण हुन सक्ने उनले बताए । दोधारा स्वास्थ्य केन्द्रका अनुसार १० दिन अघिदेखि उच्च ज्वरोको समस्या देखिएको छ ।

स्वास्थ्य केन्द्रका डा गगन चौधरीले लक्षण देखिएको तीनदेखि ४ दिनभित्र सबैको मृत्यु भएको बताएका छन् । उनले ज्वरो आउने बित्तिक्कै प्राथमिक स्वास्थ्य केन्द्रमा सम्पर्क गर्न स्थानियलाई आग्रह गरेका छन् । रासस

कमेन्टहरु
Loading...