एक्याप र व्यवसायीको लफडा, कानुन संशोधन गर्नुपर्ने स्थानीय तहको माग

पोखरा । अन्नपुर्ण संरक्षण क्षेत्रले अन्नपुर्ण संरक्षण क्षेत्रमा बनेका होटलहरु खाली गर्नका लागि पत्रचार गरेसँगै मर्दी हिमाल ट्रेकमा व्यवसाय सञ्चालन गरेर बसेका व्यवसायीहरु तनावमा परेका छन् । मर्दी हिमाल ट्रेकमा सञ्चालनमा रहेका मध्य जम्मा ९ वटा होटलहरु मात्र एक्यापमा दर्ता भएका छन भने अन्य होटलहरु दर्ता भएका छैनन् ।

पर्यटन विकासको कुरा गर्ने तर पर्यटन व्यवसायीलाई उठिबास गराउने गरि एक्यापले पत्र काटेको आरोप मर्दी होटल व्यवसायी समितले लगाएको छ । समितिका अध्यक्ष पूर्णबहादुर गुरुङ भन्छन्, ‘व्यवसायीहरुले राज्यले लिएको कर तिर्छु भनेकै छन् । एकातिर पर्यटनको कुरा गर्ने अर्कोतिर व्यवसायलाई विस्थापन गरेर कसरी पर्यटन विकास हुन्छ । नयाँ कानुनको निर्माण गरेर व्यवसायीलाई व्यवसाय गरिखाने कुराको ग्यारेन्टी गर्नुप¥यो । पर्यटन व्यवसायलाई राज्यले पनि आम्दानीको स्रोत बनाउन सक्छ । त्यसका निम्ति त व्यवसायीहरु तयार नै छन् । राज्यले व्यवसायीको लगानीलाई सुरक्षा गर्दै, होटलहरुलाई व्यवस्थित बनाउन जरुरी छ ।’

एक्यापले व्यवसायीलाई जग्गा खाली गराउन भन्दै काटेको पत्रबारे माछापुच्छ्रे गाउँपालिका प्रमुख कर्ण बहादुर गुरुङ भन्छन्, ‘कानुन संशोधनको आवश्यक छ । हामीले पर्यटन विकासको कुरा पनि गर्ने पर्यटन व्यवसायीलाई निस्केर जा पनि भन्ने कुरा विरोधाभाष छ । त्यसैले स्थानीय तहले स्रोत र साधन उपभोग गर्दै पर्यटकिय स्थानहरुको विकासका लागि पर्यटन व्यवसायीहरुसँग कर लिएर भोग अधिकारको व्यवस्था गर्नुपर्छ । मैले पनि हिजो मात्र एक्यापले पत्र काटेको कुरा सुनेको छु । केही जटिलताहरु छन्, तर समस्याको हल हुन्छ । अहिले व्यवसायीहरु आत्तिहाल्नुपर्ने अवस्था छैन । हामीले समन्वयकारी भुमिका खेल्छौं ।’

यस्तै अन्नपूर्ण गाउँपालिका अध्यक्ष युवराज कुँवरले पनि कानुन संशोधन हुनुपर्ने धारण राख्दै भने, ‘२ हजार मिटर भन्दा माथिका सबै सार्वजनिक जग्गा छन् । पर्यटकको यात्रा त्यहाँँभन्दा माथि नै हुन्छ । त्यसैले सरकारी जग्गालाई भोग अधिकार दिएर त्योबाट सरकारले राजश्व उठाउने र व्यवसायीहरुलाई निर्वाद व्यवसाय गर्न दिने कुराको ग्यारेण्टीका लागि हामी भुमिका खेल्छौं । एक्यापले पत्र काट्दैमा व्यवसायीहरु विस्थापित हुनपर्दैन ।’

एक क्यापले काटेको पत्रको विषयमा बोल्दै सोही क्षेत्रबाट निर्वाचित प्रदेश संसद रामजी बरालले व्यबसायीहरु लगानीलाई सुनिश्चित गर्दै पर्यटन विकासमा लाग्नुपर्ने बताए । बरालले पनि कानुनमा केही चिजहरु संशोधन गर्नुपर्ने धारणा राख्दै भने, ‘कानुनी हिसावले केहि समस्याहरु छन् त्यसको हल गरेर व्यवसायीलाई गरिखाने कुराको ग्यारेण्टी गर्नुपर्छ ।’

मर्दी हिमाल टे«कमा रहेका होटलहरुलाई खाली गर्न एक्यापले पत्राचार गरेसँगै उक्त ट्रेकमा रहेका होटल व्यवसायीको पक्षमा स्थानीय तह र जनप्रतिनिधि रहेका छन् भने एक्याप भने व्यवसायीको विपक्षमा रहेको बुफ्न सकिन्छ ।

कमेन्टहरु
Loading...