आलु उत्पादन घटेपछि बाग्लुङका किसान मर्कामा

बाग्लुङ । गत वर्ष ४० मुरी आलु भित्र्याएका किसान योगेन्द्रमान छन्त्यालले यसपालि बल्लतल्ल २० मुरी आलु फलाउन सके ।

बीउको जोगाड र आफन्तलाई कोसेली दिएपछि बेच्ने आलु अझै कम ठहरियो । तमानखोला गाउँपालिका–४ लाम्मेलाका छन्त्यालले भने, ‘अहिले आलु राम्रो फलेन, कसैलाई त बिउ जोगाउनै ठिक्क भयो ।’

४ वर्षअघिसम्म आफूले ७० मुरीसम्म आलु उत्पादन गरेको छन्त्यालले सुनाए । आलु कम फलेपछि यो वर्ष भाउ पनि महंगियो । सुरुमा १ पाथी आलु १ सयमा बिके पनि पछि बढेर गाउँमै १ सय ५० सम्म पुग्यो । अधिक पानी परेका कारण आलुको उत्पादन घटेको वडाध्यक्ष उदिम छन्त्यालले बताए । ‘अहिले ७० प्रतिशतसम्म आलु उत्पादन घट्यो, आलुमा निर्भर यहाँका किसान मर्कामा छन् ।’ उनले भने ।

लाम्मेलाको मुख्य बाली नै आलु हो । आलु बेचेर किसानले बजारदेखि चामल र दैनिक उपभोग्य सामानको जोहो गर्छन् । किसानले आलुबाहेक मकै, कोदो, जौ, फापरको खेतीको गर्छन् । लाम्मेलामा धान फल्दैन ।

वडाध्यक्ष छन्त्यालका अनुसार लाम्मेलाका २ सय ५० घरमै आलु खेती हुन्छ । औसतमा हरेक घरमा वार्षिक १० क्विन्टलका दरले आलु फल्छ । सिंगै गाउँभरि गर्दा २ हजार ५ सय क्विन्टलभन्दा बढी आलु उत्पादन हुन्छ । २ हजार ३ सय मिटरको उचाइमा अवस्थित लाम्मेलामा फलेको आलु स्वादिष्ट र स्वस्थकर मानिन्छ । गाउँ भित्रिने अतिथि/पाहुनालाई टक्र्याउने पहिलो परिकार पनि आलु नै हुन्छ ।

लाम्मेलाको आलु बिक्रीका लागि सदरमुकाम बागलुङ बजारलगायत टाढाका शहरी क्षेत्रसम्म पुग्छ । ठूला व्यापारीहरु गाउँमै पुगेर किसानबाट आलु खरिद गर्छन् । धेरै जग्गामा आलु लगाउने किसानले आलुबाटै भएको कमाइले घरधन्दा चलाउँछन् ।

उत्पादन बढेका बेला कुनै परिवारले त डेढ २ लाखसम्म कमाउँछन् । बसाइँसराइ, श्रमशक्तिको विदेश पलायन इत्यादि कारणले पछिल्लो समय आलु खेती विस्तारै कम हुँदै गएको वडाध्यक्ष छन्त्यालको भनाइ छ । ‘यो ठाउँ आलु बाली प्रशस्त हुने ठाउँ हो, अहिले सडक आएपछि बजारीकरणमा पनि कुनै समस्या छैन ।’ उनले भने । बेमौसममा समेत आलु बेच्नका लागि वडाले भण्डारण गृह बनाउने योजना बनाएको छ ।

गाउँपालिका अध्यक्ष जोकलाल बुढाले ६ वटै वडामा आलु खेती हुने गरेको बताए । उनका अनुसार गाउँपालिका प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत आलु ‘जोन’ कार्यक्रममा समावेश छ । उक्त परियोजनामार्फत गत वर्ष आलु किसानलाई कृषि सामग्री र औजार वितरण गरिएको थियो । यो वर्ष कृषि समूह निर्माण, बिउ वितरणलगायतका कार्यक्रम भइरहेको जनाइएको छ ।

‘आधुनिक सीप र प्रविधि दिलाएर किसानलाई व्यावसायिक उत्पादनतिर लगाउने गाउँपालिकाको पनि योजना छ ।’ अध्यक्ष बुढाले भने । कृषि शाखाका प्राविधिक मोतीप्रसाद न्यौपानले चालु आवमा कृषिमा ३८ लाख बजेट छुट्टिएको बताए । सेमी हाइटेक टनेल, प्लाष्टिक टनेल, मिनिटिलर हलो, मौरीपालन, ओखर, किवी, च्याउखेती लगायतमा बजेट खर्च गरिने छ । रासस

कमेन्टहरु
Loading...