असिना पानीका कारण तनहुँमा सुन्तला उत्पादनमा कमी

उपेन्द्र खनाल ।

सुन्तला फल्ने समयमा असिना पानी आएपछि यसवर्ष तनहुँमा उत्पादनमा कमी आएको छ ।

गतवर्ष २७ करोडको सुन्तलाको कारोबार भएपनि यस वर्ष जिल्लामा २३ करोडको मात्रै सुन्तला बिक्री भएको छ ।

कृषि ज्ञान केन्द्र तनहुँका अनुसार यस वर्ष जिल्लामा २३ करोडको सुन्तलाको कारोबार भएको हो ।

गतवर्षको तुलनामा यसवर्ष जिल्लामा सुन्तला उत्पादनमा कमी आएको छ ।

सुन्तलाको दाना हाल्ने समयमा अत्यधिक मात्रामा पानी र असिना परेकाले यो वर्ष उत्पादनमा कमी आएको केन्द्रका प्रमुख कुलप्रसाद तिवारीको भनाइ छ ।

सुन्तला फल्ने समयमा यो पटक असिना पानी आएकोले सुन्तलाले राम्रो दाना हाल्न सकेन ।

‘ सुन्तला फल्ने बेलामा असिना पानीले क्षति पुर्यायो, पानीका कारण सुन्तला कम फल्यो जसका कारण कृषक मर्कामा परे भने उत्पादनमा कमी आयो,’ उनले भने ।

जिल्लाको नाम्सीकोट, उमाचोक छिपछिपे, बैदी, बेनीकोटलगायतका सुन्तलाको पकेट क्षेत्र मानिने ठाउँमासमेत अत्यधिक वर्षाका कारण सुन्तलाले यसवर्ष राम्रो दाना हाल्न सकेन ।

शुक्लागण्डकी नगरपालिका– ११ स्थित नाम्सिकोटका कृषक हिमाल महतले फल लाग्ने बेलामा असिना पानी आएकाले सुन्तलाको उत्पादनमा कमी आएको बताए । सुन्तलाको फल लाग्ने बेलामा असिना आयो ।

‘असिना पानीले सुन्तलाका दाना फुट्ने र कुहिने भयो जसका कारण सुन्तला फल्न सकेन । पहिले पहिले सुन्तलाका दाना पोटिला र राम्रा हुन्थे यो पटक जम्मै असिनापानीले सखाप पार्यो जसले गर्दा आम्दानीसमेत घट्यो,’ उनले भने ।

म्याग्दे गाउँपालिका–२ उमाचोकका कृषक निर्मल अधिकारीले यसवर्ष ६० लाखको मात्रै सुन्तला विक्रि भएको बताए ।

‘गतवर्ष सुन्तला राम्रो फलेको थियो । रसिला र मिठा पनि थिए बगैचाबाट एक करोडबराबरको सुन्तलाको कारोबार गरिएको थियो । तर यसवर्ष ६० लाखको मात्रै बिक्रि भयो । पहिलेको जस्तो यो वर्ष सुन्तलाले दाना पनि हालेन त्यति मिठो पनि भएन,उनले भने ।

कोभिड–१९ का कारण भएको बन्दाबन्दीले राम्रो बजार भाउ पनि पाउन सकिएन जसका कारण आम्दानीसमेत घटेको उनले बताए ।

सुन्तलाको बगैचामा असिनाले क्षति पुर्याएपछि दाना सानो हुने, रस राम्रोसँग नपस्नेलगायतका समस्या देखिएको थियो जसका कारण उत्पादनमा कमी आयो । बर्षेनी करोडौँ रुपैयाँको सुन्तला विक्रि गर्दै आएका जिल्लाका कृषकहरु यस बर्ष भने आम्दानी राम्रो नभएपछि निरास छन् ।

नौ हजार पाँच सय हेक्टर क्षेत्रफलमा जिल्लामा सुन्तला खेती गरिदै आएको छ । यसवर्ष ८ हजार दुई सय मेट्रिकटन सुन्तला उत्पादन भएको छ ।

गतवर्ष भन्दा दुई सय ३५ मेट्रिकटन सुन्तला कम फलेको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ । गतवर्ष २९ करोडको कारोबार भएपनि यो वर्ष सुन्तला कम फलेकाले उत्पादनमा कमि आएको हो । असिना पानीका कारण सुन्तलामा चोट लाग्ने, कुहिने, झर्ने हुँदा उत्पादन घटेको हो ।

म्याग्देमा दुई करोडको फल्यो
जिल्लाको अन्य ठाउँमा सुन्तलाको उत्पादन घटे पनि म्याग्दे गाउँपालिकामा भने सुन्तला राम्रै फलेको छ ।

गतवर्ष एक करोडको कारोबार भएको त्यस क्षेत्रमा अहिले दुई करोडको सुन्तला विक्रि भएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ ।

म्याग्देको उमाचोकमा दुई करोड रुपैयाँको सुन्तला विक्री भएको हो ।

कमेन्टहरु
Loading...