अनुगमन टोली पुगेपछि व्यापारी भागे

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा सञ्चालित माछा पसलका व्यापारी खरिदबिक्री बिल अनुगमन टोलीलाई देखाउन नसक्ने भएपछि पसलै छोडेर भागेका छन् । काठमाडौं महानगरपालिकाले नियमित गरेको अनुगमनका क्रममा आज अनुगमन टोली माछा पसलमा पुगेको हो ।

अनुगमन टोली त्यहाँ पुग्दा २६ माछा पसलमध्ये १५ पसलका व्यापारी सटर तानेर भागेका हुन् । यसरी भागेकामध्ये अधिकाशं पसलका व्यापारी माछाको गुणस्तरमा भन्दा खरिदबिक्री बिल देखाउन नसक्ने भएपछि भागेको अनुगमन टोलीको भनाइ छ ।

अनुगमनका क्रममा हेरिएका पसलमध्ये धेरैमा दर्ता, नवीकरण र खरिदबिक्री बिलमा समस्या देखिएको महानगरको पशुसेवा विभागका पशुसेवा अधिकृत डम्मरबहादुर बमले जानकारी दिएका छन् ।

यसरी भागेका व्यापारीलाई अनुगमन समितिमार्फत आवश्यक कागजातसहित सम्बन्धित कार्यालयमा बोलाइएको छ । खरिदबिक्री बिल जारी नहुँदा माछा कहिले प्याकिङ् गरिएको हो भन्ने कुरा थाहा नहुने बताइएको छ । अनुगमनका क्रममा रहेका उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सेनाका अनुसार खरिदबिक्री बिल जारी नहुनु नै मूल्य र गुणस्तरमा उपभोक्ता ठगिनु हो ।

काठमाडौं माछा बजार समितिका अध्यक्ष वीरेन्द्रकुमार यादवले केही समय व्यापारीलाई सुध्रिने समय दिनोस् भन्दै आगामी दिनमा कानुन नमान्ने व्यापारीलाई कारवाहीका लागि आफैबाट पनि सहयोग गर्ने बताए । अनुगमनका क्रममा सप्तरी माछा पसलमा भेटिएको ९ किलो सडेको माछा जफत गरिएको छ । रासस

कमेन्टहरु
Loading...