प्रहरी कार्यालय लमजुङद्वारा यात्रु सहायता कक्ष सञ्चालन

लमजुङ । जिल्ला प्रहरी कार्यालय लमजुङले जिल्लाका ८ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गरेको छ ।

प्रहरीले महत्वपूर्ण चाडपर्व दसैं, तिहार, छठ लक्षित गरी यात्रुलाई हुने विभिन्न समस्याको ख्याल गर्दै सहायता कक्ष सञ्चालन गरेको हो । प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाका अनुसार सदरमुकाम बेसीसहरको सेराचोक र मनाङेचौतारा, सुन्दरबजारको पाउँदी र खत्रिठाँटी, राइनासको धमिलीकुवा, मस्र्याङ्दी गाउँपालिको खुदी, मध्यनेपालको दुईपिप्ले र पाखुरीचोकमा यात्रु सहायता कक्ष निर्माण गरिएको छ ।

यात्रुहरुबाट बढी भाडा लिएमा, यात्रुहरुको समानहरु हराएमा, सवारी साधनमा बढी यात्रु राखेमा, मादक पदार्थ सेवन गरी सवारीसाधन चलाएको पाइएमा, आरक्षण सिट अनुसार यात्रुलाई नबसाइएको पाइएमा सहायता कक्षमा नागरिकले सम्पर्क गर्न सक्ने प्रनाउ थापाले बताए ।

चाडपर्वका बेला सवारी साधानमा क्षमताभन्दा बढी यात्रु राख्ने, बढी भाडा लिने लगायतका काम हुने भएकाले त्यसको न्यूनीकरण गर्नका लागि सहायता कक्ष राखिएको हो । तोकेको भाडा भन्दा बढी लिएको पाइएमा कारवाही गरिने प्रहरीले जनाएको छ ।

कमेन्टहरु
Loading...