पोखरा महानगरपालिका कार्यपालिका बैठक कांग्रेसद्वारा बहिष्कार

पोखरा । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पोखरा महानगरपालिकाको कार्यपालिका बैठक बहिष्कार गरेको छ । कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि अत्यावश्यक बाहेक अन्य सेवा बन्द गरेको महानगरले मंगलबार भर्चुअल बैठक बोलाएको थियो ।

तर बिना सरसल्लाह भर्चुअल बैठक डाकिएको भन्दै नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने वडाअध्यक्षहरु बैठकमा सहभागी नभएका हुन् ।

कोरोना कहरकैबीच यसअघिका बैठकहरु पोखरा सभागृहको हलमा सामाजिक दूरी पालना गर्दै हुने गरेको तर ४२ औं बैठक भने भर्चुअल विधिबाट गरिएकोमा कांग्रेसको आपत्ति हो ।

‘एकलौटी रुपमा पोखरा प्रज्ञा प्रतिष्ठान गठनका विषयमा कांग्रेसले विरोध जनाइरहेको थियो र त्यस विषयमा छलफलको माग गरेका थियौं । त्यो एजेण्डा नै नराखी बैठक आह्वान गरेकाले हामीले बहिष्कार गरेका हौं ।’ दलका सचेतक रामराज लामिछानेले भने । पार्टीका तर्फबाट समेत ध्यानाकर्षण र ज्ञापनपत्र बुझाइएको विषयलाई दुई तिहाईको बलमा हल्का रुपमा लिइएको लामिछानेले आरोप लगाए ।

तर दलका सचेतक लामिछानेले कार्यपालिका बैठकमा सहभागी नहुने भनि निर्देशन दिए पनि वडा नं ६ का अध्यक्ष जगत बहादुर पहारी भने बैठकमा सहभागी भए । लेकसाइड क्षेत्रका भवनको मापदण्ड र तालको पनि मापदण्डका विषयमा केही एजेण्डा राख्नै पर्ने भएकाले दलको निर्णय विपरित बैठकमा सहभागी भएको उनले सुनाए । ‘सहभागी नहुने भनिएको थियो, तर मलाई भवन निर्माण र मापदण्ड सम्बन्धी एजेण्डा थियो । त्यही कुरा राख्न नि बैठकमा सहभागी भएको हुँ के गर्ने ? बाध्यता थियो मलाई ।’

तालको मापदण्ड तथा भवन निर्माण सम्बन्धी आफ्ना एजेण्डा नभएको भए आफू पनि भर्चुअल बैठकमा सहभागी नहुने उनले स्पष्ट पारे ।

आजको कार्यपालिका बैठक बहिष्कारका लागि कांग्रेस जिल्ला समितिले नै निर्देश गरेको थियो । पार्टीकै तर्फबाट बैठक बहिष्कार गर्ने निर्देशन आए पनि सहभागी भएका वडा अध्यक्षका विषयमा अनुशासनको कारवाही हुन्छ कि हुँदैन भन्ने प्रश्न गर्दा सचेतक लामिछानेले वडाअध्यक्ष पहारीले बैठकमा सहभागी हुनैपर्ने बाध्यता रहेको जनाउँदै आफ्ना कुरा राखेर मात्रै बाहिरिएको जानकारी गराएको बताए ।

दलको ह्वीप नमानेको विषयबारे भने पार्टी नेतृत्वसँगको थप छलफलबाट मात्रै अघि बढ्ने उनले जानकारी दिए ।

यता नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीले पनि दलको निर्णय बाहिर कोही पनि वडाअध्यक्ष जान नमिल्ने बताए । ‘नेतृत्वले गरेको बहिष्कारको निर्णयलाई आफ्ना जुनसुकै एजेण्डा भए पनि मान्नुपथ्र्यो पहारीजीले ।’ केसीले भने ।

वडा अध्यक्ष पहारीले दलको निर्णय विपरित कार्यपालिका बैठकमा सहभागी भएको कुरा आफू समक्ष जानकारी आइनसकेको पनि केसीले बताए । यस विषयलाई आफूले गम्भीर रुपमा लिने पनि केसीले स्पष्ट पारे ।

कांग्रेसका तर्फबाट कार्यपालिकामा प्रतिनिधित्व गर्ने ११ जना वडा अध्यक्षहरु रहेका छन् ।

कमेन्टहरु
Loading...