भलिबलको उपाधि मोदी १ भुकलाई

वीरेठाँटी (कास्की), १० चैत/अन्नपूर्ण गाउँपालिका ८ स्थित वीरेठाँटी युवा परिवारको आयोजनामा भएको फागु पूर्णिमा मेला शनिबार सकिएको छ ।

मेलाको मुख्य आकर्षणका रुपमा रहेको अन्तर गाउँपालिका वडा स्तरीय पुरुष भलिवल प्रतियोगिताको उपाधि मोदी गाउँपालिका–१, भुकको टोलीले जितेको छ । उपाधि जितेसँगै उसले नगद रु. १ लाख १ हजार एक सय ११ साथमा शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाएको छ ।

उपबिजेता बनेको मोदी गाउँपालिका–५, बाजुङको टोलीले रु. ५० हजार साथमा शिल्ड, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ ।

प्रतियोगितामा कुमार परियार बेस्ट लिप्टर, भुकका अनिल थापा बेस्ट ब्लकर, मोदीका खेम केसी बेस्ट स्पाइकर तथा भुकका सञ्जिव परियार बेस्ट पेल्यर घोषित भएका छन् ।

समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथी मेलाका मुख्य प्रायोजक चिनबहादुर प्यारी प्रतिष्ठानका अध्यक्ष पूर्ण कोले गुरुङले ‘स्वास्थ्यका लागि खेलकुदःराष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ मेला गरिएकोमा खुसी व्यक्त गर्दै मेलाको ऐतिहासिक पक्षका बारेमा चर्चा गरेका थिए ।

विशेष अतिथी नेपाल लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष तथा क्लवका वरिष्ठ सल्लाहकार देवेन्द्रकुमार शेरचनले परापूर्व कालदेखि वीरेठाँटीमा मेला लाग्दै आएको चर्चा गर्दै वीरेठाँटीलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा चिनाउने उद्देश्यका साथ मेला गरिदै आएको स्पष्ट पारे ।

वडा नं. ९ का अध्यक्ष बलबहादुर क्षेत्रीले प्रतियोगितामा हारजीत स्वभाविक भएको औँल्याउँदै मेलालाई निरन्तरता दिनुपर्ने जनाए ।त्यस अवसरमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अमर नेपाली, वडा नं. ८ का सचिव राजन तिमिल्सीना, अन्नपूर्ण संरक्षण क्षेत्र व्यवस्थापन समिति दाङसिङका अध्यक्ष तिलबहादुर गुरुङ, वीरेठाँटी आमा समूहकी अध्यक्ष विष्णुमाया गुरुङ लगायतले धारणा राखेको थिए ।

क्लबका अध्यक्ष चन्द्रबहादुर गुरुङको अध्यक्षतामा भएको उक्त कार्यक्रम स्थानीय भुमे आधारभूत विद्यालयका प्रधानाध्यापक तेजप्रसाद शर्माले संचालन गरेका थिए ।

कमेन्टहरु
Loading...