उसुमा सविता राईले रजत जितिन्

सन्देश श्रेष्ठ
भारत, सिलोङ, २७ माघ/नेपालकी उसु खेलाडी सविता राइले रजत जितेकी छिन् । उनले भारतमा जारी बाह्रौं सागको छैटौं दिन आज उसुको महिला थाउलो अन्तर्गत ताइचिक्वान स्पर्धामा रजत  जितेकी हुन् । उनले हिजोको प्रतिष्पर्धामा ९.१५ अंक प्राप्त गरेकी थिइन् भने आजको प्रतिष्पर्धामा ८.५५ गरेर कुल १७.७० अंक प्राप्त गर्दै रजत जितेकी हुन् ।
अघिल्लो प्रतिष्पर्धामा भारतसँग ०.६ अंकले मात्र पछि परेकी उनी आज ०.९६ अंकले पछि परेपछि रजतमा चित्त बुझाउनु परेको हो । उनीबाट नेपालले स्वर्णको आशा गरेको थियो । सो स्पर्धामा भारतकी एल.सनतोम्वीले स्वर्ण जितिन् । सो स्पर्धामा पाकिस्तानले भने काश्य जित्यो ।

आजै उसुमा नेपालले थप ४ स्वर्णका लागि प्रतिष्पर्धा गर्दैछ । उसुको महिला सान्सुतर्फ नेपालकी झरना गुरुङले स्वर्ण पदकका लागि प्रतिष्पर्धा गर्दैछिन् । ५२ केजी तौल समूहमा प्रतिष्पर्धा गर्ने उनले फाइनलमा भारतकी युमनाम सनाथोइ देबीसँग भिड्नुपर्नेछ ।  त्यस्तै, सोही स्पर्धाको ६० केजी तौल समूहमा नेपालकी जुनी राइले स्वर्ण पदकका लागि भारतकी अरुणनपमा देवीसँग प्रतिष्पर्धा गर्नेछिन् । भने ७० केजी तौल समूहमा नेपालकी विन्दु पुन मगरले भारतकी पूजा काडियासँग प्रतिष्पर्धा गर्नेछिन् ।
त्यसैगरी आजै नेपालका राजेश चौधरीले ५६ केजी तौल समूहमा भारतका रवि पञ्चलसँग स्वर्ण पदकका लागि प्रतिष्पर्धा गर्दैछन् । सान्सुतर्फको यी सबै प्रतिष्पर्धामा नेपाल पराजित भएपनि रजत भने सुरक्षित रहनेछ ।

कमेन्टहरु
Loading...