टेनिस प्रशिक्षण दिन शरद लामा पोखरामा

पोखरा, २५ चैत्र /नेपालका अग्रज टेनिस प्रशिक्षक शरद लामा टेनिस प्रशिक्षण दिन पोखरा आएका छन् । कास्की जिल्ला टेनिस संघद्वारा आयोजित एक हप्ते प्रशिक्षणमा उनले विभिन्न चारवटा तहमा तालिम दिने संघ कास्कीका अध्यक्ष विनोद कायस्थले जानकारी दिए ।

आइटीएफ टु लेवल गरेका पूर्व राष्ट्रिय खेलाडी लामाले जुनियर, सिनियर, भेट्रान्स खेलाडी तथा कास्कीका टेनिस प्रशिक्षकहरुका लागि पनि  प्रशिक्षक प्रशिक्षण तालिम दिनेछन् । प्रशिक्षणमा सबै तहका गरि झण्डै सय जना खेलाडीहरुको सहभागिता रहेको छ ।

‘हामी भौतिक रुपमा सक्षम बन्दैछौं, तर खेललाई नियमितता प्रदान गर्नका लागि टेनिसमा नयाँ खेलाडी ल्याउन आवश्यक छ, त्यसैले यो तालिमको आयोजना गरेका हौं’ अध्यक्ष कायस्थले भने । पोखरा रंगशालाभित्र आएपछि संघ कास्कीले पाँचवटा क्ले कोर्ट बनाइसकेको छ भने कार्यालय भवन तथा प्यारापिट पनि बनाएको छ । अब छिट्टैनै दुई वटा हार्डकोर्ट निर्माण हुने संघ कास्कीका कोषाध्यक्ष राजु गुरुङ्गले बताए ।

कमेन्टहरु
Loading...