पोखरामा माघ १ देखी दोस्रो सभामुख महिला भलिबल प्रतियोगिता

पोखरा, २९ पुस/माघ १ गते देखी पोखरामा दोस्रो सभामुख राष्ट्रिय महिला भलिबल प्रतियोगिता शुरु हुने भएको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको आयोजना तथा नेपाल भलिबल संघको प्राविधिक सहयोगमा पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रकै कोर्टमा हुने प्रतियोगिता लिगकम नकाउटको आधारमा हुनेछ ।

१० टोलीले तीन दिन लिग र चौथो र पाँचौ दिन सेमिफाईनल र फाईनल प्रतिस्पर्धा गर्ने छन् । उद्घाटन खेलमा शसस्त्र प्रहरी बलको एपीएफ क्लबले प्रदेश नं १ सँग प्रतिस्पर्धा गर्ने छ । गण्डकी प्रदेशले भने घरेलु कोर्टमा उदघाटन दिनको अन्तिम खेल खेल्दै नेपाल पुलिससँग प्रतिस्पर्धा गर्ने छ । मंगलबार नै प्रदेश नं ५ ले प्रदेश नं २ सँग प्रतिस्पर्धा गर्ने छ भने अर्को खेल त्रिभुवन आर्मी क्लबले प्रदेश नं ३ सँग प्रतिस्पर्धा गर्दै पहिलो दिन टुग्याउँने आईतबार आयोजित पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक गर्दै सुनाईयो ।

दोस्रो दिन बुधबार प्रदेश नं १ ले सुदुरपश्चिम प्रदेशसँग खेल्ने छ । त्यसपछि प्रदेश नं २ ले कर्णाली प्रदेशसँग प्रतिस्पर्धा गर्ने छ । नेपाल एपीएफ क्लबले सुदुरपश्चिमसँग खेल्ने छ । प्रदेश नं ५ ले दोस्रो दिनको अन्तिम खेल भने कर्णाली प्रदेशसँग खेल्ने छ । सुदुरपश्चिम र कर्णाली प्रदेशले एकै दिन दुई खेल खेल्ने पत्रकार सम्मेलनमा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठले सुनाए ।

तीन विभागीय तथा सात प्रदेश गरी १० टोलीले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिताको लागि राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि २० लाख रुपैयाँ उपलब्ध गराएको छ । उपलब्ध गराएको बजेटबाटै प्रतियोगिता सम्पन्न गर्नुपर्ने क्षेत्रीय खेलकुद विकास समितिले जनाएको छ । प्रतियोगिताको लागि ३८ लाख रुपैयाँ खर्च हुने पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका लेखा प्रमुख डिबी नेपालीले जानकारी दिए ।

प्रतियोगितामा विजेता टोलीले नगद ३ लाख ५० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्ने छ । दोस्रो हुने टोलीलाई १ लाख ७५ हजार, तेस्रोलाई १ लाख रुपैयाँ र चौथोलाई सान्त्वना स्वरुप २५ हजार रुपैयाँ प्रदान गरिने क्षेत्रीय खेलकुद विकास समितिले जनाएको छ । उत्कृष्ठ विधा तर्फ बेष्ट स्पाईकर, बेष्ट सेटर, बेष्ट लिबरो, बेष्ट ब्लकर, बेष्ट सर्भर, बेष्ट प्रशिक्षकलाई नगद ५ हजार सहित सम्मानित गरिने छ । उत्कृष्ठ खेलाडीलाई नगद १० हजार रुपैयाँ प्रदान गरिने प्रतियोगिताका प्रचार प्रसार संयोजक दिपकबहादुर गोदारले जानकारी दिए ।

कमेन्टहरु
Loading...