सुपर लिगमा पुलिसको विजयी सुरुवात, संकटालाई २–० ले हराएपछि उपाधि होड बलियो

पोखरा, २८ माघ/तीन पटकसम्मको लिग च्याम्पियन नेपाल पुलिसले जारी शहीद स्मारक ए डिभिजन लिग पनि उपाधि होड बलियो बनाएको छ । मंगलबारदेखि सुरु भएको सुपरलिगको पहिलो खेलमा मंगलबार संकटा क्लबलाई २–० गोलले हराएपछि तेस्रो स्थानमा रहेको पुलिस २५ अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ । प्रारम्भिक चरणमा १२ खेलबाट समान २२ अंक जोडेको संकटालाई हराएपछि पुलिसले लिग लिडर मनाङ मस्र्याङ्दीसँग अंकदुरी घटाएको छ । सुपरलिगको पहिलो खेल खेल्न बाँकी नै रहेको मनाङको २६ अंक छ ।

गत माघ ३ गते भएको पहिलो चरणको खेलमा भने संकटाले पुलिसलाई गोलरहित बराबरीमा रोकेको थियो ।गत वर्ष उपाधि यात्राको ट्रयाक बाहिर गएको विभागीय टीम पुलिसले यो जीतसँगै उपाधि यात्रामा आफूलाई सशक्त बनाएको छ । यसअघि, २०६३ देखि ०६८ सम्म संचालन भएको तीन लिगमा नै पुलिस च्यम्पियन बन्दै उपाधि माथि ह्याट्रिक गरेको थियो । त्रिपरेश्वर स्थित दशरथ रंगशालामा भएको खेलमा पुलिसको जीतमा जुमनु राई र भरत शाहले गोल गरे । पहिलो हाफसम्म गोलरहित खेलमा ६४ औं मिनेटमा विकल्पका रुपमा मैदान उत्रेका जुमनु राईले भोला सिलवालको कर्नरमा हेडमार्फत उत्कृष्ट गोल गर्दै सुरुवाती अग्रता दिलाए ।

राई दुवै एंकलको समस्याबाट मुक्त भईसकेका छैनन् । अन्तिम ईन्जुरी समयको अन्तिम क्षणमा भरत शाहले गोल गरे । त्यसअघि एकमिनेट भित्रै जुमनु राई र भोला सिलवाल दुवैले वान भर्सेज वानको अवस्थामा गोल गर्न चुकेका थिए । राष्ट्रिय टिमका मेरुदण्ड समेत रहेका रविन श्रेष्ठ चोटग्रस्त भएकाले संकटा विरुद्धको खेलमा मैदान उत्रिएनन् भने भरपर्दा डिफेण्डर सुमन सुवेदी दुई पहेंलो कार्डका कारण मैदान बाहिरै रहे । तर पनि संकटाले पुलिस विरुद्ध पहिलो चरणमा जस्तो चुनौति पेश गर्न सकेन । संकटाको पनि फरवार्ड ओलावाले अफिज एंकलका चोटका कारण मैदान नउत्रिँदा उनको अभाव खड्कियो ।

पुलिसका प्रशिक्षक विराटकृष्ण श्रेष्ठले मनाङलाई थ्रीस्टारलाई पराजित गरेपछि नै उपाधि होड खुला भएकाले अब आफ्नो टीम उपाधिको होडमा होमिएको बताएका छन् । संकटाका प्रशिक्षक राजुकाजी शाक्यले आफ्नो टीमले आगामी खेलमा राम्रो गर्ने बताएका छन् । सुपर लिग अन्तर्गत बुधबार दोस्रो खेलमा डिफेण्डिङ च्याम्पियन थ्रीस्टार क्लबले मच्छिन्द्र क्लबको सामना गर्नेछ । थ्रीस्टार मच्छिन्द्रलाई हराउँदै शीर्ष स्थानमा उक्लन चाहन्छ भने १९ अंकका साथ पाँचौ स्थानमा रहेको मच्छिन्द्र उपाधि होडलाई निरन्तरता दिन चाहन्छ ।

कमेन्टहरु
Loading...